मलंगवा, २१ असोज – बेमौसमी वर्षाले सर्लाहीमा पाक्ने बेला भएको धानसहित अन्य बालीमा व्यापक क्षति पुर्याएको छ ।
कृषि ज्ञान केन्द्र सर्लाहीले शुक्रबार रातिदेखि आइतबार बिहानसम्म भएको भारी वर्षाका कारण जिल्लामा चारैतिर पाक्ने बेला भएको धानसहित उखु, मकै र तरकारी बालीमा अत्यधिक क्षति पुर्याएको जनाएको हो । कार्यालयका प्रमुख कमलदेवप्रसाद कुशवाहाले आजदेखि कार्यालय र पालिकाहरु खुलेपछि वर्षाबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिने जानकारी दिए ।
प्रारम्भिक जानकारी अनुसार सबैभन्दा बढी पाकेर भित्र्याउने बेला भएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाको भनाइ छ । “रोपाइँ गर्ने समयमा खडेरी गएर समस्या परेको थियो अहिले बाली पाकेर भित्र्याउने समयमा अत्यधिक वर्षा भएर जताततै क्षति गर्यो, ”उनले भने “धानबाहेक अन्य बाली पनि ठुलो पानी परेर ढलेकाले क्षति पुगेको छ ।”
अहिलेको क्षतिले धान उत्पादनमा व्यापक गिरावट आउन सक्ने कृषि प्राविधिकको भनाइ छ । बेमौसमी वर्षाले कौडेना गाउँपालिका, चक्रघट्टा गाउँपालिका, बसबरिया गाउँपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका र गोडैता नगरपालिकामा बढी मात्रामा कृषि बालीमा क्षति गरेको किसानले बताएका छन् ।
अन्य पालिकामा पनि भर्खरै पसाएको तथा नुँगेर पाक्ने बेला भएको धान, उखु, मकैलगायत बालीका बोट ढलेर क्षति गरेको किसानको भनाइ छ । चक्रघट्टा गाउँपालिका–३, का किसान दिनेश राय यादवले खडेरीमा मुस्किलले रोपेको धान दुई दिनको मुषलधारे पानीले सखाप पारेको बताए ।
“खेतमा पाक्ने बेला भएको धान ढलेको देख्दा मन भक्कानिन्छ,” यादवले भने “मुखैमा आइसकेको बाली दुई दिनको पानीले सखाप नै पार्यो ।” अत्यधिक वर्षाले व्यावसायिक रुपमा तरकारी खेती गरेका किसानले पनि ठुलो क्षति बेहोर्नु परेको छ ।
व्यावसायिक ढङ्गले तरकारी खेती हुने लालबन्दी नगरपालिका, हरिवन नगरपालिका, ईश्वरपुर नगरपालिका, बागमती नगरपालिका, कविलासी नगरपालिका, चन्द्रनगर गाउँपालिकालगायत ठाउँमा सयौँ बिघामा लगाएको तरकारी बाली डुबानमा परेर नष्ट भएको किसानले गुनासो गरेका छन् । लालबन्दी नगरपालिका–११, हीरापुरका किसान वीरसिंह घिसिङले दुई दिनसम्म पानीमा डुबेको तरकारी अब चर्किएर घाम लागेपछि बोट नै सुकेर जाने बताए ।
उनले भने, “पानीमा चुर्लुम्म डुबेको तरकारी अब यसरी घाम चर्किएपछि कामै नलाग्ने गरी सुक्न थाल्छ ।” किसानका अनुसार बेमौसमी वर्षाले गोलभेँडा, खुर्सानी, काउली, बन्दा, घिरौला, परबल, बोडीलगायतका तरकारीमा व्यापक क्षति गरेको छ ।
तरकारी खेतीका लागि प्रयोग भएको विषादी, मल र आफ्नो हैरानी खेर जाने अवस्था आएको किसानले गुनासो गरेका छन् ।