logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीका १० पालिकामा तलब, भत्ता निकासा हुन सकेन


  • उज्यालो अभियान

मलंगवा, ०९ असोज – सर्लाहीका १० वटा पालिकामा बजेट निकासा हुन नसक्दा कर्मचारी र सामाजिक सुरक्षा भत्ता बुझ्ने सेवाग्राहीले दशैँअघि तलब, भत्ता नपाउने भएका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका अनुसार आजसम्म जिल्लाका २० मध्ये १० पालिकाको मात्रै खाता संचालन भएको छ । बाँकी १० पालिका सम्पर्कमै नआएका सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंले जानकारी दिए ।

उनका अनुसार लालबन्दी, बागमती, हरिपुर, गोडैता र बलरा नगरपालिका तथा धनकौल, रामनगर, कौडेना, ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकाले मात्रै कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताको रकम निकासा लगेका छन् ।

हरिपुर्वा, बरहथवा, कविलासी, ईश्वरपुर, मलंगवा र हरिवन नगरपालिका तथा विष्णु, बसबरिया, पर्सा र चक्रघट्टा गाउँपालिकाको खाता खुल्नै बाँकी रहेको प्रमुख कोष नियन्त्रक गुरागाईंले उज्यालो अभियानसँग बताए ।

पालिकाको खाता संचालनका लागि गाउँ तथा नगरसभा सम्पन्न गरेको, अघिल्लो आर्थिक वर्षको हरहिसाबको विवरण सुत्रमा इन्ट्री गरेको हुनुपर्नेलगायतको व्यवस्था छ । नियम अनुसार सबै प्रक्रिया पूरा गरेर आएका पालिकाको तत्काल खाता संचालन गरेर तलब, भत्ता निकासा गरिए पनि सम्पर्कमै नआएका पालिकाको हकमा केही गर्न नसकिएको प्रमुख कोष नियन्त्रक गुरागाईंको भनाइ छ ।

तलब, भत्ता निकासा हुन बाँकी रहेका पालिका सम्पर्कमा आए शनिबारसमेत काम गर्ने गरी तयारीमा बसेको तर अहिलेसम्म निकासाका लागि कुनै प्रक्रिया अघि नबढाएका र सामान्य समन्वयधरी नगरेका पालिकामा दशैँअघि पैसा जाने सम्भावना न्यून रहेको उनले बताए । सरकारी कार्यालय आइतबारसम्म खुलेर त्यसपछि दशैँका लागि बिदा हुन्छन् ।

सर्लाहीमा बसबरिया गाउँपालिकाबाहेक अन्य पालिकाले गाउँ तथा नगर सभाबाट चालू आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिसकेका छन् । बजेट पारित गरिसकेका पालिकाले समेत तलब, भत्ता निकासमा बेवास्ता गर्दा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको दशैँ खल्लो बनेको छ ।

सामाजिक सुरक्षा भत्ताको आशमा बसेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायत निराश बनेका छन् । दशैँअघि तलब, भत्ता निकासा गर्न असम्भव भएपछि सर्लाहीका कतिपय पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत अहिले मोवाइल ‘स्वीच अफ’ गरेर बसेका छन् ।