logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जेनजी आन्दोलन : सर्लाहीमा ६३ करोडको क्षति


  • उज्यालो अभियान

आगजनी र तोडफोड भएको हरिवन नगरपालिकाको कार्यालय । तस्बिर : उज्यालो अभियान

हरिवन, ०६ असोज – जेनजी पुस्ताको आन्दोलनमा तोडफोड र आगजनी हुँदा सर्लाहीमा ६३ करोड ५५ लाख बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभर सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको प्रारम्भिक विवरण आज सार्वजनिक गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनमा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी हुँदा पूर्ण क्षति ४७ करोड २० लाख, आंशिक क्षति १४ करोड ३० लाख र सामान्य क्षति दुई करोड पाँच लाखसहित ६३ करोड ५५ लाख बराबरको क्षति भएको जानकारी दिए ।

उनका अनुसार जिल्लामा सबैभन्दा धेरै क्षति स्थानीय तहमा भएका छन् । जिल्लाका २० पालिकामध्ये छवटा पालिकामा पूर्ण क्षति, दुईवटा पालिकामा आंशिक क्षति र तीनवटा पालिकामा सामान्य क्षति पुगेको क्षतिको प्रारम्भिक विवरणमा उल्लेख छ । विवरण अनुसार लालबन्दी, ईश्वरपुर, बरहथवा, हरिपुर, हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा पूर्ण क्षति पुगेको छ ।

पूर्ण क्षति भएका छ पालिकामध्ये लालबन्दी नगरपालिकामा सबै भन्दा बढी १७ करोड रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै ईश्वरपुर नगरपालिकामा १२ करोड, बरहथवा नगरपालिकामा १० करोड, हरिपुर नगरपालिकामा दुई करोड ७५ लाख, हरिपुर्वा नगरपालिकामा दुई करोड ४४ लाख र चन्द्रनगर गाउँपालिकामा तीन करोड एक लाख रुपियाँ बराबरको क्षति भएको छ ।

यसैगरी आंशिक क्षति पुगेको हरिवन नगरपालिकामा १० करोड चार लाख, बागमती नगरपालिकामा तीन करोड ७५ लाख, सामान्य क्षति पुगेको ब्रह्मपुरी गाउँपालिकामा १६ लाख, मलङ्गवा नगरपालिकामा छ लाख र पर्सा गाउँपालिकामा १२ लाख रुपियाँ बराबरको क्षति भएको छ । प्रादेशिक कार्यालयतर्फ सामान्य क्षति पुगेको कृषि ज्ञान केन्द्र मलङ्गवामा १५ लाख, सङ्घीय कार्यालयतर्फ आंशिक क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइ सर्लाहीमा ४८ लाख र हुलाक कार्यालय लालबन्दीमा तीन लाख रुपियाँ बराबरको क्षति भएको छ ।

सङ्घीय सरकार मातहतकै सामान्य क्षति पुगेको नेपाल प्रहरीका विभिन्न युनिटहरुमा एक करोड ४५ लाख, सशस्त्र प्रहरी बलका विभिन्न चेक पोष्टमा छ लाख र सर्लाही जिल्ला अदालतमा पाँच लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

जेनजी आन्दोलनमा निजी सम्पत्तिमा भएको भौतिक तथा आर्थिक क्षतिको सम्वन्धमा विवरण सङ्कलन हुनेक्रम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । प्रारम्भिक क्षतिको विवरण सङ्कलन भएसँगै स्थानीय प्रहरी, प्रशासन दोषी व्यक्तिको पहिचान गर्ने र कारवाही अघि बढाउने काममा लागेका छन् ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जेनजी आन्दोलनको नाममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गरेर क्षति पुर्याउने व्यक्तिको पहिचान गर्न फोटो, भिडियो सङ्कलन गर्ने काम भइरहेको बताए ।