सन्जु कर्ण/लालबन्दी ०१ असोज – १३ वर्षदेखि २८ वर्ष उमेर समूहका युवा अर्थात् जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै आज साँझ सर्लाहीका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।
लालबन्दी, हरिवन, मलंगवालगायत स्थानमा मैन बत्ती प्रज्वलन गरी मृतकप्रति श्रद्धान्जली व्यक्त गरिएको हो । लालबन्दी नगरपालिका ७ स्थित पश्चिम बसपार्कमा भेला भई जेनजी आन्दोलनमा सहादत प्राप्त सहीदहरुप्रति दुःख व्यक्त गरिएको नेविसंघ जनज्योति बहुमुखी क्याम्पस इकाइ समितिका सभापति निर्मल अधिकारी (सफल) ले जानकारी दिए ।

यस्तै सदरमुकाम मलंगवामा पतन्जली योग समितिको आयोजनामा सहीद चोकमा दीप प्रज्वलन गरिएको छ । भ्रष्टाचारको विरोधमा युवाहरुले गरेको प्रदर्शनको क्रममा सहीद भएकाहरुप्रति श्रद्धान्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गरिएको पतन्जली योग समितिका शिवशंकर चौधरीले बताए ।

सदरमुकाम मलंगवामा आजै साँझ राष्ट्रिय मुक्ति पार्टी नेपालले अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन कार्यक्रम गरेको पार्टीका जिल्ला अध्यक्ष गणेशकुमार यादवले बताए ।

यसैगरी जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै हरिवन नगरपालिका ८ मा रहेको गोरखा एकेडेमी परिसरमा शिक्षक, विद्यार्थी भएर दीप प्रज्वलन गरेको विद्यालयका प्रधानाध्यापक सुवास घिमिरेले बताए ।