logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आदित्यको स्मृतिमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने


  • उज्यालो अभियान

रानिगन्ज, १८ भदौ – एक वर्षअघि मकवानपुरमा पहिरोमा परेर ज्यान गुमाएका आदित्य बलम्पाकी मगरको स्मृतिमा सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्जमा जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

गएको वर्ष असोजमा मकवानपुरको सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरो जाँदा रानिगन्जका आदित्यसहित छ जना युवा फुटबल खेलाडीको मृत्यु भएको थियो । आदित्यको सम्झना गर्दै महाकाली युवा क्लब रानिगन्जले असोज १ गतेदेखि २० वर्षमुनिको जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगिताको तयारी अघि बढाइएको अखिल नेपाल फुटबल संघ सर्लाहीका उपाध्यक्ष विभुसिंह थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको बिजेतालाई ५१ हजार र उपबिजेतालाई २५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता गर्नेबारे भर्खरै निर्णय भएकाले अब टिम दर्ताको लागि आब्हान गरिने थापाले बताउनुभयो ।