logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सिडिओ कार्यालयमा निजी विद्यालय संचालकको धर्ना


  • उज्यालो अभियान

मलंगवा, १२ भदौ – सर्लाहीका निजी विद्यालय संचालकले आज सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

सङ्घीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी नीति ल्याउन लागिएको भन्दै जिल्लाका बोर्डिङ स्कुल संचालक आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा भेला भएर कालो ब्यानरसहित शान्तिपूर्ण विरोध कार्यक्रम गरेका हुन् । विरोध प्रदर्शनमा सहभागी निजी विद्यालय संचालकले स्कुल बस, पुस्तक र विद्यालय पोसाकमा छात्रवृत्ति दिन सक्दैनौ, पूर्ण छात्रवृत्ति शब्द खारेज गर, विद्यार्थी सङ्ख्याको १० प्रतिसत सम्म छात्रावृत्ति दिन सक्दैनौ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

निजी विद्यालयको विभिन्न सङ्घसङ्गठनको आयोजनामा भएको विरोध प्रदर्शन कार्यक्रममार्फत कम्पनि ऐन अनुसार दर्ता भइ सञ्चालनमा रहेका विद्यालयलाई गैर–नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाउनुपर्ने, विद्यालयमा उत्पादन नहुने पोसाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, खाजा, खाना र अन्य सुविधाको प्रावधान खारेज गर्नुपर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्वन्धित विद्यालयमा रहनुपर्ने माग अघि सारेका छन् ।

केन्द्रीय समितिले तय गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत सर्लाहीमा पनि जिल्लाभरका निजी विद्यालय सञ्चालक सदरमुकाममा उपस्थित भएर विरोध प्रदर्शन गरेको सनराइज आवासिय विद्यालय हरिवनका संचालक प्रवेश न्यौपानेले जानकारी दिए ।