हरिपुर, ०४ भदौ – सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकाका दुईवटा सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा हरिपुर नगरपालिका–९, मा रहेको जनता प्राथमिक विद्यालय ढावटोल र ईश्वरपुर नगरपालिका–१०, मा रहेको जुडी जनता प्राथमिक विद्यालय खैरालाई चार/चार थान स्मार्ट बोर्ड उपलब्ध गराइएको हो । प्रति विद्यालय नौ लाख ८० हजार रुपियाँका दरले दुवै विद्यालयलाई १९ लाख ६० हजार रुपियाँ बराबरको स्मार्ट बोर्ड प्रदान गरिएको ग्रामीण नारी उत्थान संघका सचिव सूर्यप्रसाद चालिसेले जानकारी दिए ।
चालिसेका अनुसार प्रविधिमैत्री शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित गर्ने मुख्य उद्देश्यसहित हरिपुर र ईश्वरपुरका दुईवटा नमूना प्राविलाई स्मार्ट बोर्ड सहयोग गरिएको हो । ईश्वरपुरमा नगरप्रमुख मनोजकुमार आचार्य, वडाध्यक्ष राशनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत डा. पङ्कजकुमार साह, शिक्षा अधिकृत दिनेश लुइटेल तथा हरिपुरमा नगर उपप्रमुख निलमदेवी राय यादव, शिक्षा अधिकृत नागेश्वर राय, वडाका जनप्रतिनिधिलगायतको उपस्थितिमा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको ग्रामीण नारी उत्थान संघले जनाएको छ ।
यसअघि पनि ईश्वरपुर र हरिपुरका अन्य सामुदायिक विद्यालयलाई यसैगरी स्मार्ट बोर्ड प्रदान गरिएको संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले बताए ।