जसपा मधेश अध्यक्ष अशोककुमार यादव (बायाँ) र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्का ।
मलंगवा, २० असार – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोकुमार यादवविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौचमा उत्रनुभएका यादवलाई अदालतले शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो ।
जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरीका प्रमुख खड्काबिच टेलिफोनमा भएको बाझाबाझ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पूर्व मधेश प्रदेश सभा सदस्य समेत रहेका यादव र एसपी खड्काबिच बिहीबार राति टेलिफोनमा गालीगलौच भएको थियो ।
सदरमुकाम मलङ्गवास्थित पूर्वाधार कार्यालयमा प्रहरी तैनाथ गरेर सेवा प्रवाह गरिएकोप्रति जसपा मधेश प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई टेलिफोन गरेर आपत्ति जनाएका थिए । कुराकानीमा जसपा प्रदेश अध्यक्ष यादवले पूर्वाधार कार्यालयमा आर्थिक वर्षको अन्तिममा अनियमित ढङ्गले काम भइरहेको र त्यसमा प्रहरीले सुरक्षा दिएर गलत गरेको एसपी खड्कासँग भनेको सुनिन्छ ।
कुराकानीकै क्रममा यादवले एसपी खड्कालाई ‘तिमीहरु लुटेरा, मधेशमा कमाउन भनेर आएको’ भनेको सुनिन्छ । त्यसपछि जसपाका प्रदेश अध्यक्ष यादव र एसपी खड्काबिच अपशब्द प्रयोग गर्दै बाझाबाझ गरेको टेलिफोन अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
आफूमाथि गालीगलौच भएपछि जिल्ला प्रहरी प्रमुख खड्काले यादवलाई पक्राउ गर्न बिहीबार राति नै कविलासी नगरपालिका–१०, सलेमपुरस्थित जसपा प्रदेश अध्यक्ष यादवको घरमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईको नेतृत्वमा प्रहरी परिचालन गरे । डिएसपी राईको नेतृत्वमा सलेमपुर पुगेको प्रहरी टोलीलाई यादवका समर्थकले अवरोध गरेका बुझिएको छ ।
यादवलाई पक्राउ गर्न जाँदा प्रहरीको गाडीमा तोडफोडसमेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत रहेका डिएसपी राईले बताए । प्रहरीले जसपाका प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न शुक्रबार बिहानैदेखि खोजी गरिरहेको छ ।
असार १२ गते पूर्वाधार विकास कार्यालय मलङ्गवामा केही व्यक्ति आएर विभिन्न योजनाको फाइल खोसेर लगेपछि प्रहरी परिचालन हुँदै आएका थिए । जसपाका मधेश प्रदेश अध्यक्ष यादवकै नेतृत्वमा फाइल खोसेर लगिएको आरोप लागेको छ ।
यादवले भने आम जनताको गुनासो र आवाजलाई सम्वोधन गर्न खोज्दा उल्टै आफूलाई फसाउन खोजिएको गुनासो पोखेका छन् । पक्राउ पुर्जी जारी भएपछि उज्यालो अभियानसँग कुरा गर्दै यादवले पूर्वाधार कार्यालयका प्रमुख बिजय यादव दिनभर रौतहटको चन्द्रनिगाहपुरमा बस्ने गरेको र राति कार्यालयमा आएर अनियमित हिसाबले चेक काट्ने काम गरिरहेको प्रति आपत्ति जनाउँदा प्रहरी प्रशासन नै आफूविरुद्ध लागेको बताए ।
जसपा सर्लाहीले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनले पार्टीका प्रदेश अध्यक्ष यादवमाथि दुर्व्यहार गरेको र डाका शैलीमा मध्य राति प्रहरी घरभित्र प्रवेश गरेको आरोप लगाएको छ । जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तीमा गल्ती गर्ने प्रहरी प्रमुखले माफी माग्नुपर्ने माग राखेको छ ।