logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीका तरकारी व्यापारीको आन्दोलन स्थगित, भोलीदेखि तरकारी किन्ने


  • उज्यालो अभियान

लालबन्दी, १९ साउन – मधेश प्रदेशको प्रमुख तरकारी बजारको रुपमा रहेको सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा भोली (शुक्रबार) देखि तरकारीको नियमित किनबेच हुने भएको छ ।

लालबन्दी नगरपालिका कार्यालयले तरकारीमा निकासी कर लगाएको विरोधमा बजारका व्यापारीले बिहीबार बिहानभर किसानको तरकारी खरिद गरेनन् । व्यापारीले तरकारी खरिद नगरेपछि विभिन्न ठाउँबाट तरकारी बिक्री गर्न आएका किसानले लालबन्दी ७ स्थित कृषि थोक तरकारी बजार अगाडि पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान तीन घण्टा चक्काजाम गरे ।

नगरप्रमुख बासुदेव अधिकारीले आन्दोलनस्थलमा आएर तरकारीमा लगाइएको निकासी करको विषयमा तत्काल छलफलमा गर्ने प्रतिवद्धता जनाएपछि व्यापारीले किसानको तरकारी खरिद गरेका थिए । बिहीबार दिउँसो पुरानो नगरपालिका कार्यालयमा भएको छलफलमा आर्थिक वर्षको अन्तिम भएकाले असारभर अहिले कायम रहेकै करलाई यथावत् रहन दिने र साउनदेखि नयाँ आर्थिक वर्षमा भने करको विषयमा नगरसभाबाट निर्णय गर्ने सहमती भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष प्रमोदप्रसाद थपलियाले उज्यालो अभियानसँग बताए ।

नगरपालिकाले ठेक्का लगाएको बजारमा निकासी करको नाममा गुण्डागर्दी शैलीमा मनपरी पैसा उठाउने काम भइरहेकोप्रति पनि ध्यानाकर्षण गराइएको बजार समितिका अध्यक्ष थपलियाको भनाइ छ । “आर्थिक वर्ष सकिन दुई साता बाँकी भएकाले अहिले जे जसरी पैसाउठाइएको छ, त्यसरी नै कर उठाउन दिने भन्नेभयो,” बजार समितिका अध्यक्ष थपलियाले भने, “साउनदेखि भने के गर्ने भनी नगरसभामा कुरा राख्ने भन्ने सहमती भएको छ ।”

लालबन्दी तरकारी बजार व्यवसायी सङ्घका अध्यक्ष दरेश चौधरीले बिहीबार भएको सहमती अनुसार अब भोली शुक्रबारदेखि तरकारीको नियमित किनबेच हुने जानकारी दिए । उनले भने–“हाम्रो अनिश्चितकालिन आन्दोलन तत्काललाई स्थगित भयो, अब भोलीदेखि तरकारी नियमित खरिद गर्छौँ ।”

किसानका प्रतिनिधि र बजारका व्यापारीसँग नगरप्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, विभिन्न वडाका वडाध्यक्षलगायत भएर छलफल गरेका हुन् । नगर उपप्रमुख पाख्रिनले कर जस्तो विषयमा नगर प्रमुख, उपप्रमुखले मात्रै भनेर नहुने भएकाले कार्यपालिका हुँदै नगर सभामै कुरा राख्ने सहमती भएको बताइन् ।

अहिले जे जसरी तरकारी खरिद–बिक्री भइरहेको छ, असारभर त्यसैगरी गरिदिन आफूहरुले गरेको आग्रहमा किसान र व्यापारी दुवै पक्ष सहमत भएका नगर उपप्रमुख पाख्रिनको भनाइ छ । “मेयर, उपमेयर र कार्यकारीले कर लिन्छौँ लिँदैनौँ भनेर भन्न सक्ने अवस्था हुँदैन, त्यसका लागि त ९० जना नगर सभा सदस्यसँग छलफल गर्नुपर्छ,” उपप्रमुख पाख्रिनले उज्यालो अभियानसँग भनिन् “अहिले नगर सभा चलिरहेकै अवस्था पनि छ । अब यो विषयमा सभामै कुरा उठाउँछौँ ।”

लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले एक दिन मात्रै पनि तरकारी किनबेच नहुँदा बर्बाद हुने स्थिति रहेकाले तत्कालै किसान र व्यापारीको कुरा सुनेर छलफलमा बसिहालेको उज्यालो अभियानसँग बताएका छन् ।