फाइल तस्बीर ।
सिसौट, १८ असार – सर्लाहीको रामनगर गाउँपालिका–६, सिसौटमा रहेको बागमती माध्यमिक विद्यालयका परीक्षार्थीको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा चार दिन ढिलो गरी प्रकाशन भएको छ ।
राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले एसइईको नतिजा गएको शुक्रबार प्रकाशन गरेको थियो तर बागमती मावि सिसौटका परीक्षार्थीको नतिजा भने त्यसबेला प्रकाशन हुन सकेन् । दुई दिन कुर्दा पनि आफूहरुको नजिता नै थाहा हुन नसकेपछि विद्यार्थीले गएको आइतबार विद्यालय अगाडि टायर बालेर प्रदर्शन गरे ।
विद्यालयका प्रधानाध्यापक रामसिंहासन रायले परीक्षा नियन्त्रण कार्यालयमा समन्वय गरेपछि हिजो बेलुका विद्यालयबाट एसइई दिएका परीक्षार्थीको नजिता प्रकाशन भएको उज्यालो अभियानलाई जानकारी दिए । प्राविधिक गढबढीले गर्दा नतिजा रोकिन पुगेको भनी परीक्षा नियन्त्रण कार्यालयले जवाफ दिएको प्रधानाध्यापक रायले सुनाए ।
विद्यालयबाट एसइई दिएका ११८ जना विद्यार्थीमध्ये कसैको नतिजा प्रकाशन नभएपछि विद्यालयले शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवामार्फत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा समन्वय गरेको थियो । त्यसक्रममा जिल्लाबाट विद्यार्थीको समष्टीगत अभिलेख पठाउनेलगायत अनलाइन प्रक्रिया समेत सबै पूरा भएको पाइएको र यहाँबाट गुनासो राखेपछि पुनः एक/एक गरी उत्तरपुस्तिका हेरेर नतिजा प्रकाशन गर्ने काम भएको प्रधानाध्यापक रायले बताए ।
प्रकाशित नतिजा अनुसार ११८ जना परीक्षार्थीमध्ये २१ जना उत्र्तीण भएका विद्यालयले जनाएको छ । एसइईको नतिजा नै रोकिएपछि विद्यार्थी र अभिभावक आन्दोलित हुँदा आइतबारदेखि विद्यालयको पठनपाठन ठप्प भएको थियो । हिजो बेलुका नतिजा प्रकाशित भएसँगै आज बिहानदेखि पठनपाठन सूचारु भएको बागमती मावि सिसौटले जनायो ।
एसइईमा सामेल भएका गाउँपालिकाभित्रका तीनवटा विद्यालयमध्ये तपस्वी जगदेव मावि बहुअर्बा र सुनिता अरबिन्द मावि खैर्बाको नतिजा भने गएको शुक्रबार नै प्रकाशित भएको रामनगर गाउँपालिकाको शिक्षा शाखाका प्रमुख फेकु राय यादवले जानकारी दिए ।