logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उखुको अनुदानलाई निरन्तरता दिन कांग्रेस सर्लाहीको माग


  • उज्यालो अभियान

लालबन्दी, १४ असार – नेपाली कांग्रेस सर्लाहीले उखु किसानलाई दिइँदै आएको अनुदानलाई निःशर्त निरन्तरता दिन माग गरेको छ ।

नेपाली कांग्रेस सर्लाहीका नेताहरुले संघीय सरकारका कृषि मन्त्री रामनाथ अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाउँदै उखुको अनुदान कुनै पनि हालतमा कटौति गर्न नहुने माग राखेका हुन् । यही माग राखेर जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको नेतृत्वमा कृषिमन्त्री अधिकारीलाई काठमाडौंमा भेटेर ज्ञापन पत्र बुझाइएको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले उज्यालो अभियानलाई जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा किसानले पाउँदै आएको अनुदान रकम कटौति गरिएकोप्रति कांग्रेस सर्लाहीले आपत्ति जनाउँदै यसबाट किसानको जीवनयापनमै असर पर्ने भन्दै मन्त्री अधिकारीको ध्यानाकर्षण समेत गराएको छ । कृषि मन्त्री अधिकारीसँग विगत वर्षको अनुदान रकम तत्काल किसानको खातामा पठाइदिन र यो वर्षका लागि उखुको समर्थन मुल्य समयमै निर्धारण गरिदिन माग गरिएको कांग्रेस सर्लाहीका सचिव कार्कीले बताए ।

मन्त्री अधिकारीले गत वर्षको अनुदान रकम १ अर्ब ३९ करोडमध्ये एक हप्ताभित्र ८० करोड रकम किसानको खाता पुग्ने र बाँकी रकम पनि जतिसक्दो चाँडो निकासा गर्ने प्रतिवद्धता व्यक्त गरेका कार्कीले बताए ।