logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आज एकैदिन ९ पालिकाले ल्याए नीति तथा कार्यक्रम, बाँकी ६ पालिकामा भोली


  • उज्यालो अभियान

हरिपूर्वा नगरपालिकाको नगर सभा ।

मलंगवा, ०९ असार – सर्लाहीका नौ वटा पालिकाले आज एकैदिन आ–आफ्नो गाउँ तथा नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

गोडैता नगरपालिकाको नगर सभा ।

देशभरमै सबैभन्दा बढी ११ नगरपालिका र नौ गाउँपालिका गरी २० स्थानीय तह रहेको सर्लाहीमा आज चार नगरपालिका र पाँच गाउँपालिकाले गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम पेश गरेका हुन् । हरिपूर्वा, हरिपुर, गोडैता र बरहथवा नगरपालिका तथा रामनगर, धनकौल, विष्णु, चन्द्रनगर र बसबरिया गाउँपालिकाले अनुमानित बजेटसहितको नीति, कार्यक्रम ल्याएका छन् ।

बरहथवा नगरपालिकाको नगर सभा ।

हरिपूर्वामा नगरप्रमुख विनोदकुमार साह तेलीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, हरिपुरमा नगरप्रमुख गोपाल पजियार, गोडैतामा नगरप्रमुख देवेन्द्रकुमार यादव र बरहथवामा नगरप्रमुख कल्पनाकुमारी कटुवालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । यसैगरी रामनगर गाउँपालिकामा अध्यक्ष राराजाबाबु यादव, धनकौल गाउँपालिकामा अध्यक्ष राम आश्रय साह, विष्णु गाउँपालिकामा अध्यक्ष जवाहारलाल यादव, चन्द्रनगर गाउँपालिकामा अध्यक्ष राजकुमार महतो र बसबरिया गाउँपालिकामा अध्यक्ष रामसिंहासन राय यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

हरिपुर नगरपालिकाको नगर सभा ।

बागमती नगरपालिका, लालबन्दी नगरपालिका र बलरा नगरपालिका तथा कौडेना र चक्रघट्टा गाउँपालिकाले यसअघि नै नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अब ईश्वरपुर नगरपालिका, मलङ्गवा नगरपालिका, कविलासी नगरपालिका, हरिवन नगरपालिका, पर्सा गाउँपालिका र ब्रह्मपुरी गाउँपालिकामा नीति, कार्यक्रम प्रस्तुत हुन बाँकी रहेको छ । यि छ पालिकाले पनि भोली आ–आफ्नो गाउँ तथा नगरसभाको बजेट अधिवेशनमा नीति, कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् ।

बसबरिया गाउँपालिकाको गाउँ सभा ।

ब्रह्मपुरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले नीति तथा कार्यक्रम प्रस्तुत गर्न भोली गाउँसभा आयोजना गरिएको जानकारी लिए । हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाका अनुसार नीति, कार्यक्रम पेश गर्न भोलीको मिति तय गरिएको छ ।

रामनगर गाउँपालिकाको गाउँसभा ।

अघिल्ला आर्थिक वर्षमा निकै विवाद भएका पालिकाले यो वर्ष समयमै नीति, कार्यक्रम प्रस्तुत गरेका छन् । गएको वर्ष असारमा चालू आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम प्रस्तुत गर्न आयोजित सभामा झडप नै भएको बसबरिया गाउँपालिकामा यो वर्ष शान्तपूर्वक रुपमा बेलैमा नीति, कार्यक्रम प्रस्तुत भएको छ ।

अघिल्ला पटकका जनप्रतिनिधि र अहिले रहेका जनप्रतिनिधिको पहिलो कार्यकालमा बारम्बार तनाव भएर आर्थिक वर्षको अन्तिमतिर मात्रै बजेट पारित हुने हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१८२ र आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम बेलैमा पेश गरेर ‘बजेट ल्याउन लेट गर्ने पालिका’ को दाग मेटाएका छन् ।

चन्द्रनगर गाउँपालिकाको गाउँसभा ।

हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले नगर उपप्रमुख, वडाध्यक्ष र अन्य कार्यपालिका सदस्यलाई सहमतीमा ल्याएर ६२ करोड १३ लाख ५३ हजार २३५ रुपियाँ बराबरको अनुमानित बजेटसहितको नीति, कार्यक्रम प्रस्तुत गरिएको बताए । यो वर्ष हालसम्म १४ वटा पालिकामा विवादरहित हिसाबले नीति, कार्यक्रम प्रस्तुत हुँदा स्थानीय सुरक्षा निकायलाई समेत निकै सहज भएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले १४ वटै स्थानमा शान्तपूर्वक हिसाबले गाउँ तथा नगरसभा प्रारम्भ भएकाले शान्ति, सुरक्षाका लागि अहिलेसम्म टाउको दुखाइ नरहेको उज्यालो अभियानसँग बताएका छन् । ।