logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

खैरा टोल घटना : अवस्था सामान्य बन्दै, पक्राउ परेकालाई आज अदालत लगिने


  • उज्यालो अभियान

बरहथवा, ०८ असार – सर्लाहीको बरहथवा नगरपालिका–४, खैरा टोलको अवस्था आज सामान्य रहेको छ ।

त्यहाँ हिजो बाटो विस्तारका क्रममा झडप हुँदा २ प्रहरीसहित १० जना घाइते भएका थिए । घाइतेमध्ये काठमाडौं लगिएका ५० वर्षका टीकाबहादुर कार्की र ५२ वर्षका कूलबहादुर कार्कीबाहेक अन्य घाइते डिस्चार्ज भइसकेका छन् । कार्की दाजुभाईको भने राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार जारी छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले खैरा टोलको अवस्था सामान्य बनिसकेको जानकारी दिए । डिएसपी भट्टराईका अनुसार हिजो झडपको घटनापछि पक्राउ परेका ७ जना हिरासतमै रहेका छन् । उनीहरुविरुद्ध कानूनी कारवाही प्रक्रिया अघि बढाउन आज सर्लाही जिल्ला अदालतमा पेश गरिने डिएसपी भट्टराईले उज्यालो अभियानसँग बताए ।

झडपछि खैरा टोलमा गएरातिसम्म ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । अहिले ति प्रहरीलाई फिर्ता गरिएको छ । प्रहरी तैनाथ नभए पनि खैरा टोललाई उच्च निगरानीमा राखिने डिएसपी भट्टराईको भनाइ रहेको छ ।

झडप रोक्न प्रहरीले हिजो त्यहाँ १ राउण्ड हवाई फायर नै गर्नुपरेको थियो । प्रहरीको हस्तक्षेपको बाबजुत दुई पक्षबिच बाँसको भाठा र ढुंगा हानाहान भएको भिडियो सामाजिक सन्जालमा यत्रतत्र सार्वजनिक भइरहेका छन् ।

बरहथवा नगरपालिका ४ का वडाध्यक्ष कृष्णकुमार साहले एक्कासी बाहिरका मानिस आएर झडप गरेका बताए । विवाद भएपछि हिजैदेखि बाटो विस्तार तथा ढलानको काम रोकिएको वडाध्यक्ष साहले जानकारी दिए ।

हुलहुज्जत भएको एमालेको आरोप

यसैबिच नेकपा एमाले बरहथवा नगर कमिटीले बरहथवा नगरपालिका ४ का पूर्व वडाध्यक्ष लखिन्द्र महतो र बलरा नगरपालिका ८ का उमेश महतोको नेतृत्वमा हुलहुज्जत गरी अराजकता मच्चाइएको आरोप लगाएको छ ।

पार्टीका नगर कमिटी अध्यक्ष अमरेन्द्रकुमार सिंहले गएसाँझ प्रेस विज्ञप्ती जारी गर्दै पार्टीका नगर कमिटी उपाध्यक्ष कूलबहादुर कार्कीको घरमा अनाधिकृत प्रवेश गरी हुलहुज्जत गर्दै महिलामाथि कुटपीट, दुव्र्यवहार र हातपात भएको भन्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।