लालबन्दी, २७ जेठ – मधेश प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्लाही १८ गोल्डमेडलसहित पहिलो बन्न सफल भएको छ ।
सर्लाहीकै लालबन्दीस्थित राधाकृष्ण खेल मैदानमा सम्पन्न प्रतियोगितामा एथलेटिक्सतर्फ १५, कराँतेतर्फ दुई र तेक्वान्दोमा एक गोल्ड मेडलसहित समग्रमा १८ गोल्डमेडलसहित सर्लाही पहिलो बन्न सफल भएको हो । प्रतियोगिताका बिजेता खेलाडीले जेठ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय स्तरको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
जेठ २५ गतेदेखि सुरु भएको मधेश प्रदेश स्तरीय प्रतियोगितामा आठै जिल्लाबाट विभिन्न विधाका खेलाडी सहभागी भएका थिए ।