logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

घटेन गर्मी, सुक्न थाल्यो बाली र तरकारी


  • उज्यालो अभियान

पानी नपर्दा सुक्न थालेको धानको ब्याड र मकैको बोट । (तस्बीर : उज्यालो अभियान)

हरिवन, २७ जेठ – सर्लाहीमा विगत तीन/चार दिनदेखिको उखरमाउलो गर्मीले जनजीवन आक्रान्त बनिरहेको छ ।

यहाँ दिनभरको टन्टलापुर घाम र उच्च तापक्रमका कारण जनजीवन अत्यन्त प्रभावित बनेको हो । दिनभरको चर्को घाम र रातको समयमा समेत अत्यधिक गर्मी हुँदा दैनिकी असाध्य कष्टकर बनेको हो । गर्मीले मजदुर, किसान, विद्यालय जाने बालबालिका, यात्रु, विभिन्न कार्यालयमा पुग्ने सेवाग्राही असाध्य प्रभावित बनिरहेका छन् ।

चर्को घामले गर्दा यहाँ धानको ब्याड, मकै, तरकारीलगायतका बाली सुक्न थालेको किसानले बताएका छन् । अत्यधिक गर्मीका कारण किसानलाई चौपाय र पंक्षी जोगाउन समेत मुस्किल परेको छ ।

बाहिर चर्को घाम लागेर तातो हावा चल्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरु गर्मीको मार खेप्न बाध्य छन् । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या हुन सक्ने डाक्टरले बताएका छन् । सकेसम्म दिउँसोको चर्को घाममा घरबाट ननिस्कन र निस्कनै परेमा छाता ओढ्न, शितल छहारीमा बस्न, पानी तथा सर्वत पिउन डाक्टरको सल्लाह छ ।

मौसमविद्ले सरदरभन्दा झन्डै दुई हप्ता अघि नै मध्य जेठमा मनसुन नेपाल भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन देशभर विस्तार हुन अझै हप्ता÷दश दिन लाग्न सक्ने देखिएको छ । भोलिदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने मौसमविदको अनुमान छ ।