logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा युरिया मलको अभाव, किसान समस्यामा


  • उज्यालो अभियान

नवलपुर, २४ जेठ – कृषि सामग्री कम्पनिको वीरगन्ज प्रादेशिक कार्यालयबाट ढुवानीमा ढिलाई हुँदा विभिन्न जिल्लामा रासायनिक मल अभाव हुन थालेको छ ।

कार्यालयले मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न १७ जिल्लामा रासायनिक मल ढुवानीको जिम्मेवारी पाएको छ । मकै रोपेका किसानलाई अहिले युरिया मल र धान रोप्ने तयारीमा रहेका किसानलाई डीएपी मलको खाँचो छ ।

तराई क्षेत्रको चुरेवर्ती भेगमा सँठिया मकै गोडेर मल हाल्ने समय भएको छ । युरिया मल लिनका लागि गाउँको सहकारीमा बारम्बार धाए पनि मल नै नरहेको भनेर फर्कारहेको लालबन्दी नगरपालिका–१७, रानिगन्जका किसान गोपाल अधिकारीले गुनासो गरेका छन् ।

कृषि सामग्री कम्पनिले सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आइरहेको छ । मकै खेती धेरै हुने उत्तरी भेगका सहकारी संस्थामा अहिले मलखादको गोदाम नै रित्तिएको छ ।

कृषि सामग्री कम्पनि लिमिटेड नवलपुर सर्लाहीका प्रमुख ध्रुव साहले युरिया र डीएपी दुवै मलको माग उच्च रहेको तर कार्यालयसँग मल नै नरहेको बताए । उनका अनुसार डीएपी मल अहिले धमाधम आउन थालेको भए पनि युरिया मल कहिलेसम्म आउँछ भन्ने टुङ्गो छैन् ।

कृषि सामग्री कम्पनि वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले कार्यालयमा डीएपी र युरिया मल धमाधम प्राप्त भएकाले अब जिल्लाहरुमा ढुवानीको तयारी भइरहेको बताए । केही जिल्लामा डीएपी ढुवानी भइरहेको र युरिया पनि एक/दुई दिनभित्रै ढुवानी हुने पाण्डेको भनाई छ ।

मधेश प्रदेशमा कुन जिल्लामा कति मल पठाउने भन्ने निर्णय प्रदेश सरकारले गर्ने गर्छ । मधेश प्रदेश सरकारले मलको कोटा तोक्न बाँकी नै रहेकाले किसानले तत्कालै मल पाउने अवस्था छैन् । रासायनिक मलको उच्च माग हुँदा कृषि सामग्री कम्पनि र साल्ट टे«डिङ कर्पोरेशनको गोदाम भरिन नपाउँदै रित्तिने गरेको छ ।

युरिया मलको उच्च माग रहेका बेला अहिले वीरगन्जस्थित साल्ट टे«डिङको गोदाममा एक हजार ३३८ टन र कृषि सामग्रीको गोदाममा १३८ टन मात्र युरिया मल स्टक छ । डीएपी मल केही मात्रामा स्टक रहेको तर धान रोपाइँ सुरु हुन बाँकी रहेकाले डीएपी मलको माग कम रहेको बताइएको छ ।