लालबन्दी, २४ जेठ – उद्योगी, व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ लालबन्दीको १० औँ अधिवेशन आज सुरु हुँदै छ ।
नेतृत्व चयनसहितको अधिवेशन आज मध्यान्हबाट लालबन्दी ९ बस्तीपुरस्थित होटल आर्या इनमा सुरु हुन लागेको हो । अधिवेशनको प्रदेश सभा सदस्य बेची लुंगेलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशनमा लालबन्दी नगरभित्रका उद्योग वाणिज्य संघमा आवद्ध ८०० बढी उद्योगी, व्यवसायी सहभागी हुँदै छन् ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन गराउन पूर्व अध्यक्ष कल्याणकुमार जोशीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको वर्तमान अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले जानकारी दिए ।
उद्योग वाणिज्य संघ लालबन्दीको आगामी अध्यक्षका लागि वर्तमान कार्य समितिका उपाध्यक्ष महेशकुमार महतो प्रमुख आकांक्षी देखिएका छन् ।
बन्दसत्र सुरु भएपछि अन्य आकांक्षी पनि देखा पर्न सक्ने र एक भन्दा बढी उम्मेदवार भएको खण्डमा मतदानबाट नेतृत्व चयन गरिने निर्वाचन समितिले जनायो ।