logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दोस्रो अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट : गोल्डेन फ्यूचरलाई उपाधि


  • उज्यालो अभियान

लालबन्दी, २० जेठ – सर्लाहीको लालबन्दीमा आयोजित दोस्रो अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि गोल्डेन फ्यूचर एकेडेमीले हात पारेको छ ।

लालबन्दी राइजिङ्ग क्लबको आयोजनामा लालबन्दी नगरपालिका ४ जरुवापानीस्थित सोही विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा जनज्योति माध्यमिक विद्यालय लालबन्दी ९ लाई ७ विकेटले हराउँदै लालबन्दी ९ मै रहेको गोल्डेन फ्यूचर एकेडेमीले उपाधि उचालेको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनज्योति मावि १०.५ ओभरमा ५९ रनमै अलआउट हुन पुग्यो ।

६० रनको सामान्य लक्ष्य पाएको गोल्डेन फ्यूचरले ११.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । जितसँगै गोल्डेन फ्यूचरले नगद २० हजार रुपियाँसहित प्रथम ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

उपबिजेता जनज्योतिले १० हजार रुपियाँमा चित्त बुझायो । बिजेता तथा उपबिजेता विद्यालयका विद्यार्थीलाई आयोजक लालबन्दी राइजिङ्ग क्लबका अध्यक्ष सागर महतो, लालबन्दी नगरपालिकाको नगर खेलकुद परिषद्का अध्यक्ष विष्णुहरि अधिकारीलगायत भएर पुरस्कार वितरण गरे ।

जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरभित्रका आठवटा विद्यालयले सहभागिता जनाएका आयोजक क्लबका सचिव सुरज थापाले जानकारी दिए ।