हरिवन, १८ जेठ – सर्लाहीको हरिवनमा महादेव जनता माध्यमिक विद्यालयले आयोजना गरेको नगरस्तरीय बृहत नृत्य प्रतियोगिता आज सम्पन्न भएको छ ।
हरिवन नगरपालिका ८ स्थित विद्यालय प्राङ्गणमा सम्पन्न प्रतियोगिताले नगरका विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई मञ्च प्रदान गर्दै उनीहरूको सर्वाङ्गीण विकासमा टेवा पु¥याएको आयोजकले जनाएको छ । प्रतियोगितामा नगरका १३ वटा विद्यालयका २६ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
मोहन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले प्रमुख अतिथिको रूपमा र उपप्रमुख हरिमाया घलान विशिष्ट अतिथिका रूपमा उपस्थित जनाएका थिए । साथै विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य र अन्य अतिथिको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विद्यार्थीले आफ्नो कला र सिर्जनात्मकताको अनुपम प्रदर्शन गरेका थिए । प्रतियोगितामा जनसेवा मा.वि. घुर्कौलीकी तृष्णा वाइबाले आफ्नो नृत्य प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।
द्वितीय स्थानमा सर्लाही एम्बिसन एकेडेमीकी सबिता घलान र तृतीयमा सगुन शिक्षा आवासीय विद्यालयकी सुस्मिता लामाले बाजी मारेकी छन् । सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यार्थीमा समता स्कुलकी कृति सिन्दाली, सनराइज आवासीय मा.वि.की दिक्षिता भट्टराई र मोडेल युरिका एकेडेमीकी सिम्रन श्रेष्ठ रहेका छन् ।
विजयी विद्यार्थीलाई कार्यक्रममा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रम समापनको अवसरमा बोल्दै नगर प्रमुख बुढाथोकीले यस्ता रचनात्मक क्रियाकलापले विद्यार्थीको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्न अतुलनीय भूमिका खेल्ने बताए ।
कार्यक्रमको संचालन टीका भण्डारी र दुर्लभ भट्टराईले गर्नुभएको थियो । प्रतियोगिताले हरिवनका विद्यार्थीमा लुकेका प्रतिभालाई उजागर गर्ने र उनीहरूलाई भविष्यमा अगाडि बढ्न प्रेरित गर्ने विश्वास लिइएको छ ।