लालबन्दी, १७ जेठ – सर्लाहीको चुरेवर्ती क्षेत्रका किसानलाई पाँच वर्षदेखि अमेरिकन फौजी किराले असाध्य दुःख दिइरहेको छ ।
आकाशे वर्षाको भरमा खेती हुने चुरेवर्ती क्षेत्रमा यो वर्ष पनि अहिले फौजी किराले मकै बालीमा व्यापक क्षति गरिरहेको किसानले गुनासो गरेका छन् । चुरेभेगमा पर्ने ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको माथिल्लो भेगका किसानले लगाएको सँठिया मकै बालीमा फौजी किराले व्यापक क्षति गरिरहेको हो ।
फौजी किराले मकैको बोटका पात खाएर डाठ मात्रै बाँकी राखेको किसानले गुनासो गरेका छन् । एक साताअघि रोपेर भर्खरै उम्रिएको मकै तथा गोलमेल गरेर मलखाद गर्ने बेला भएको मकै बालीमा व्यापक मात्रामा फौजी किराको प्रकोप देखिएको हो । पाँच वर्षअघि अचानक देखा परेका फौजी किराले त्यसयता प्रत्येक पटकको मकै बालीमा क्षति गरिरहेको किसान बताउँछन् ।
फौजी किराको प्रकोप सुरु भएदेखि मकै उत्पादन वर्षेनि घटेको किसानको भनाई छ । फौजी किराले पात काटेर मकैको बोट जोगाउनै गाह्रो पर्ने गरेकाले उत्पादन घटेको पाइन्छ । फौजी किराले दिनमा भन्दा रातको समयमा मकैको पात बढी खाने गरेको छ । किरा मार्न भन्दै किसानले दिउँसोको मध्य घाममा दबै छिट्ने गरेका छन् ।
कृषि प्राविधिकले समेत अनेक प्रयास गर्दा पनि फौजी किरा नियन्त्रणमा आउन नसकेको बताएका छन् । पानी पर्न थालेपछि फौजी किरा विस्तारै कम हुने कृषि प्राविधिकको भनाई छ । लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले फौजी किराले मकैको पात बढी मन पराउने गरेको जानकारी दिए ।