logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बागवानीको आँप ५३ लाख ७१ हजारमा ठेक्का


  • उज्यालो अभियान

बागवानी केन्द्रमा फलेको आँप देखाउँदै निमित्त केन्द्र प्रमुख रामकुमार यादव । (तस्बीर : उज्यालो अभियान)

नवलपुर, १२ जेठ – सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको आँप यो वर्ष ५३ लाख ७१ हजार रुपियाँमा ठेक्का लागेको छ ।

सुरज निर्माण सेवा लालबन्दी २ पुनर्वासले सो रकममा आँपको ठेक्का सकार गरेको हो । बागवानी केन्द्रको आँप गत वर्ष २१ लाख १५ हजार रुपियाँमा ठेक्का लागेको थियो ।

गएको वर्षको तुलनामा ३२ लाख ५६ हजार बढी मुल्यमा यो वर्ष आँप बिक्री भएको उष्ण प्रदेशीय बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले जानकारी दिए । देशकै सबैभन्दा ठूलो यस बागवानी केन्द्रको आँप दुई वर्षअघि २०८० सालमा अहिलेसम्मकै सबैभन्दा बढी एक करोड ११ लाख ६० हजार रुपियाँमा ठेक्का लागेको थियो ।

आँप धेरै फलेको वर्ष बढी मुल्य र कम उत्पादन भएको वर्ष थोरै रकममा ठेक्का लाग्ने गरेको निमित्त केन्द्र प्रमुख यादवको भनाई छ । प्राविधिकका अनुसार आँप प्रायः एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने हुन्छ । बागवानी केन्द्रको करिव १०० बिघा जग्गामा छ हजार आँपका बोट रहेका छन् ।

छ हजार बोटमध्ये यो वर्ष आधाजति बोटमा आँप फलेको बागवानी केन्द्रले जनाएको छ । केन्द्रमा बम्बै, मालदह, दसहरी, अम्रपारीलगायत ३५ जातका आँप रहेका छन् ।

बागवानी केन्द्रको लिची भने यसअघि नै २८ लाख २५ हजार रुपियाँमा ठेक्का लागेको थियो । लिची ठेक्का लागेको यो मुल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।

ठेकेदारले बागवानी केन्द्रको लिची अहिले धमाधम टिपेर बिक्री गर्न सुरु गरेका छन् । बागवानी केन्द्रमा उत्पादन भएको लिची स्थानीय हाटबजार तथा हेटौंडा, चितवन, काठमाडौंलगायतका शहर लगेर बिक्री गर्ने गरिएको छ ।