सर्लाहीको हरिवनमा सम्पन्न मदन भण्डारी फाउन्डेसन सर्लाहीको प्रथम जिल्ला अधिवेशन । (तस्बीर : रिना आले/उज्यालो अभियान)
रिना आले/हरिवन, ०८ जेठ – मदन भण्डारी फाउन्डेसन सर्लाहीको प्रथम जिल्ला अधिवेशन हिजो हरिवनमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता फाउन्डेसन सर्लाहीका जिल्ला अध्यक्ष चुडामणी वाग्लेले गरेका थिए भने प्रमुख अतिथि फाउन्डेसनका मधेश प्रदेश अध्यक्ष राज मोहम्मद राय थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कमला देवी महतो, फाउन्डेसन मधेश प्रदेश उपाध्यक्ष गणेश प्रसाई, मधेश प्रदेशका निवर्तमान सांसद माननीय डिल्ली उप्रेति, नेकपा एमाले सर्लाहीका उपाध्यक्ष बिदुर प्याकुरेल लगायतले मदन भण्डारीको योगदान बारे धारणा राखेका छन् ।
कार्यक्रमका वक्ताहरूले “जनताको बहुदलिय जनवाद – राष्ट्र निर्माणको आधार” भन्ने मूल नारालाई आत्मसात् गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्ने धारणा राखेका थिए । अधिवेशनले पुनः हरिवनका चूडामणि वाग्लेको अध्यक्षतामा मदन भण्डारी फाउन्डेसनको २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
कमिटीमा उपाध्यक्षमा ईश्वरपुरकी सविता चौधरी, सचिवमा मलंगवाका समिम खान र कोषाध्यक्षमा बरहथवा शम्भु ठाकुर रहेका छन् । अधिवेसनले सर्लाहीका २० वटै पालिकाको लागि तदर्थ समितिका अध्यक्षहरु पनि चयन गरेको छ ।
हिजो नै मदन भण्डारी फाउन्डेसनको मधेश प्रदेश कमिटी र जिल्ला कमिटीको सम्पर्क कार्यालय हरिवनमा उद्घाटन गरिएको छ ।