अध्यक्षमा निर्वाचित शम्भु नेपाल ।
हरिवन, ०४ जेठ – नेकपा माओवादी केन्द्र निकट सर्लाही-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा शम्भु नेपाल चयन भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न तेस्रो अधिवेशनले सर्लाहीको हरिवन निवासी नेपालको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षत्रयमा अमरेन्द्र कुशवाहा, राजकुमार आले र मुकेश खड्का चयन भएका छन् । त्यस्तै सचिब, कोषाध्यक्ष र सहसचिबमा क्रमशः रोजिना थापा कार्की, उषा काफ्ले र सरोज रायमाझी चयन भएको अध्यक्ष नेपालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि सम्पर्क समितिको सचिब थिए ।
निवर्तमान अध्यक्ष शंकर रायमाझीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं मधेश प्रदेश इन्चार्ज मातृका यादवको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । हाललाई ३० जनाको कार्यसमिति निर्वाचित भएको र १५ जना सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष नेपालले उज्यालो अभियानलाई जानकारी दिए । काठमाडौंमा बसोबासरत एवं कार्यरत सर्लाहीबासीको हकहितका लागि डटेर लागिपर्ने अध्यक्ष नेपालको प्रतिबद्धता थियो ।