logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कोदो र कुर्थी फलाउने किसानले पाए अनुदान


  • उज्यालो अभियान

हरिवन, ०४ जेठ – सर्लाहीको हरिवन नगरपालिकाले कोदो र कुुर्थी अर्थात् गहत फलाउने किसानलाई अनुदान प्रदान गरेको छ ।

लोपोन्मुख तथा रैथाने बाली संरक्षण, सम्वद्र्धन तथा उपयोग अनुदान कार्यक्रम अन्तर्गत नगरभित्र कोदो र गहत उत्पादन गर्ने ३८ जना किसानलाई पहिलो पटक अनुदान प्रदान गरिएको हो । हरिवन नगरपालिकाले रैथाने बाली अन्तर्गत पर्ने कोदो, आलस, कुर्थी र फापर फलाउने किसानलाई अनुदान प्रदान गर्ने कार्यपालिका बैठकबाटै निर्णय गरेको छ ।

नगर कार्यपालिकाले बनाएको कार्यविधि अनुसार नगरपालिकामा निवेदन दिएर कोदो र कुुर्थी उत्पादन गर्ने किसानलाई यो वर्षबाट अनुदान दिन सुरु गरिएको हरिवन नगरपालिकाको कृषि शाखाका प्रमुख प्रविन तामाङले जानकारी दिए । तामाङका अनुसार कोदो उत्पादन गर्ने किसानलाई प्रतिक्विन्टल दुुई हजार रुपियाँ र कुुर्थी उत्पादन गर्ने किसानलाई प्रतिक्विन्टल दुुई हजार ५०० रुपियाँ प्रदान गर्ने कार्यविधिमा उल्लेख छ ।

यो वर्ष नगरको कार्यविधि पूरा गरेका ३८ जना किसानले उत्पादन गरेको ८६.६७ क्विन्टल कोदो र १२.५ क्विन्टल कुर्थीको अनुदान रकम प्रदान गरिएको हो । कोदो र कुुर्थी फलाउने किसानलाई नगरपालिका कार्यालयमै बोलाएर नगरप्रमुख रमेश बुुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान र प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयालले अनुदान रकम हस्तान्तरण गरेका छन् ।

कृषि शाखाका प्रमुख तामाङका अनुसार नगरभित्र केही किसानले आलस र फापर समेत उत्पादन गरे पनि उनीहरुले मापदण्ड पुु¥याउन नसकेकाले अनुदान रकम प्राप्त गर्न सकेनन् । रैथाने बाली लगाउने किसानलाई के–कसरी अनुदान लिन सकिन्छ भन्नेबारे प्रष्ट हुन हरिवन नगरपालिका कार्यालयले कृषि शाखाको सम्पर्कमा आउन अनुरोध समेत गरेको छ ।

रैथानी बालीको खेती विस्तार गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानलाई अनुदानको व्यवस्था गरिएको नगरप्रमुख बुुढाथोकीले बताए । नगरपालिकाको कृषि शाखाका अनुसार चुरेवर्ती क्षेत्रमा प्राय रैथाने बालीको बढी खेती हुने गरेको छ ।
नगर उपप्रमुख घलानले आगामी वर्षदेखि जुनेलो खेती गर्ने किसानलाई पनि अनुदान प्रदान गर्ने तयारी रहेको बताईन् ।