हरिवन, ०३ जेठ – जननेता मदन भण्डारीको ३२ औँ स्मृति दिवसको अवसरमा सर्लाहीको हरिवनमा मदन भण्डारी फाउन्डेसनले विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
हरिवन नगरपालिका ८ नम्बर वडा कार्यालयको संयोजनमा भएको प्रतियोगितामा महादेव जनता माविका विद्यार्थी अरुण रमौली मगर प्रथम भएका छन् । यस्तै मनकामना विद्यालयका रिदिश लामा दोस्रो, महादेव जनताकै ललित नारायण श्रेष्ठ तेस्रो र सनराइज बोर्डिङ स्कुलका नरेन्द्र मगरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
हरिवन नगरका विभिन्न विद्यालयका ३२ जना छात्रछात्रा प्रतियोगितामा सहभागी भएका फाउन्डेसनले जानकारी दिएको छ ।
फाउन्डेसन सर्लाही जिल्लाका अध्यक्ष चुडामणि वाग्लेको अध्यक्षतामा भएको प्रतियोगिता उदघाटन कार्यक्रममा हरिवन नगरपालिकाका पूर्व मेयर एवं फाउन्डेसनका प्रदेश उपाध्यक्ष गणेश प्रसाईले मदन भण्डारीको हत्या गरिनु देशको लागि दुर्भाग्य भएको धारणा राखेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष प्रज्वल ढुंगाना, प्रधान अध्यापक गिरिराज राणा, वडा सदस्य उत्तम राई लगायतले चित्रकलाको महत्व बारे प्रकाश पारे । प्रतियोगितामा डाक्टर हरिलाल मैनाली संयोजक र सोनी गुर्मछान एवं सन्दिप थापा सदस्य रहेको निर्णायक समितिले पुरस्कृत विद्यार्थीको छनौट गरेको थियो ।
२०५० साल जेठ ३ गतेका दिन नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी एवं तत्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रितको चितवनको दासढुङ्गामा भएको एक विवादास्पद दुर्घटनामा देहान्त भएको थियो ।