सुनिल ठाकुर/चक्रघट्टा, ०२ जेठ – सर्लाहीको चक्रघट्टा गाउँपालिका–३, सुन्दरपुरमा आज प्रसूति केन्द्र अर्थात् बर्थिङ सेन्टरको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद् ललितपुरका सदस्य सचिव मनोज भट्टले नयाँ बनेको बर्थिङ सेन्टरको भवन उद्घाटन गरेका हुन् । गाउँपालिकाको २४ लाख ९७ हजार ३१५ रुपैयाँ र वन हर्ट वल्र्ड वाइडको २० लाख रुपैयाँ लागतमा बर्थिङ सेन्टरको नयाँ भवन निर्माण गरिएको हो ।
सुन्दरपुर स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर यसअघि अत्यन्त जिर्ण भवनबाट सञ्चालनमा रहेको थियो । भवनको उद्घाटन गर्दै समाज कल्याण परिषद्का सदस्य सचिव भट्टले नयाँ भवन निर्माण भएसँगै सुरक्षायुक्त र सहज ढंगबाट सेवा प्रवाह हुने विश्वास व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहले ग्रामीण भेगमा उत्कृष्ट प्रसूति सेवा प्रदान गरिरहेको बर्थिङ सेन्टरमा अब नयाँ भवन निर्माणपछि सेवा प्रवाहमा थप प्रभावकारिता आउने आश व्यक्त गरे । चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले यसअघि असाध्य जिर्ण भएर पानी चुहिने बनिसकेको बर्थिङ सेन्टरको वन हर्ट वल्र्ड वाइडसँग समन्वय गरी बेग्लै नयाँ भवन निर्माण गर्न पाउँदा खुसी लागेको बताए ।
ग्रामीण भेगमा रहेर पनि गोडैता नगरपालिकाको सिसौटिया बर्थिङ सेन्टर, हरिपुर नगपालिकाको लक्ष्मीपुर कोद्राङ बर्थिङ सेन्टर र चक्रघट्टा गाउँपालिकाको सुन्दरपुर बर्थिङ सेन्टरले जिल्लामै उत्कृष्ट प्रसूति सेवा प्रदान गरिरहेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
सुन्दरपुर बर्थिङ सेन्टरको भवन उद्घाटन कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका निर्देशक सरोजचन्द्र न्यौपाने, समाज कल्याण परिषद्का निर्देशक सन्जय मल्लिक, चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जिवकुमार यादव, चक्रघट्टा ३ का वडाध्यक्ष दिनेश साह, वन हर्ट वल्र्ड वाइड संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।