अत्रौली, २१ बैशाख – पार्टीका पूर्व उपसभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले अहिलेको व्यवस्थाप्रति नेपाली कांग्रेस दृढ रहेको बताएका छन् ।
सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आज शहीद सुखदेव महतोको शालिक अनावरण गर्दै नेता निधीले संघीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अरु राजनीतिक दलको तुलनामा कांग्रेसलाई धेरै रहेको बताएका हुन् । निधीले यो प्रणालीलाई जोगाउन सके शहीदप्रति उच्च सम्मान हुने उल्लेख गरे ।

नेकपा एमालेसँगको संयुक्त सरकार रहेको बेला सबैकुरा कांग्रेसले भनेको मात्रै नहुने भन्दै निधीले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी आगामी २०८४ को निर्वाचनलाई लक्षित गरी जनताको मन जित्ने गरी काम गर्न निर्देशन पनि दिएका छन् । पार्टी सभापतिका प्रत्यासी समेत रहेका निधीले अबको १३ महिनापछि नेकपा एमालेसँगको सात बुँदे सहमती अनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा हुँदै जाने ठोकुवा समेत गरे ।
हिजो भर्खर बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे विभिन्न टिका, टिप्पणी र विरोध भए पनि यसलाई पारित गराउन सबै सांसद एकैठाउँमा उभिने निर्णय भएको निधीको भनाई छ ।

कांग्रेस नेता निधी आज चुरेवर्ती भेगस्थित अत्रौली आएर २०५९ साल बैशाख २१ गते तत्कालिन विद्रोही पक्ष (माओवादी) ) ले घाँटी रेटेर हत्या गरेका पार्टीका नेता एवं साबिक अत्रौली गाविसका अध्यक्ष सुखदेव महतोको आधाकद भएको शालिक अनावरण गरेका हुन् ।
शहीद सुखदेव महतो स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्बर महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, मधेश सरकारका पूर्व मन्त्री रामसरोज यादव, पार्टी जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, धनुुषा जिल्ला सभापति योगेन्द्र पजियार, पूर्व सर्लाही जिल्ला सभापति नागेन्द्र कुमार, प्रदेश सभा सदस्य जंगीलाल राय, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, संविधान सभा सदस्य हरेशप्रसाद महतो, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, पार्टीको मधेश प्रदेश सभाका पूर्व सचेतक उपेन्द्रप्रसाद कुशवाहा, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र कविलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्णले मन्तव्य व्यक्त गरेका छन् ।

पार्टीका जिल्ला सचिव निरज कार्कीको संचालन तथा हरिवन नगरपालिका २ का वडाध्यक्ष अर्जुनकुमार योन्जनको स्वागतमा शालिक अनावरणको कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा पार्टीका लागि साथ, सहयोग र योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको कार्यक्रम संचालक एवं जिल्ला सचिव कार्कीले उज्यालो अभियानलाई जानकारी दिएका छन् ।