logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एक हजार जनाले लिए प्रसूति सेवा


  • उज्यालो अभियान

लालबन्दी, २० बैशाख – सर्लाहीको लालबन्दीस्थित नगर अस्पतालबाट यस आर्थिक वर्षमा प्रसूति सेवा लिने महिलाको सङ्ख्या एक हजार नाघेको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को साउनदेखि अहिलेसम्म प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार नाघेको उपलक्ष्यमा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले केक काटेर खुसी साटासाट गरेका छन् । नगर अस्पताल लालबन्दीमा २०८० फागुन २१ गतेदेखि शल्यक्रिया (सिएस) मार्फत सेवा दिन थालेपछि प्रसूतिमा अत्यधिक चाप बढिरहेको छ ।

लालबन्दी नगरपालिकाले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रामविश्वास राय दनुवार र शल्यक्रियाका लागि आवश्यक पर्ने अन्य स्वास्थ्यकर्मी नियुक्त गरेर सिएस सेवा संचालन गरिरहेको छ । अस्पतालमा सर्लाही जिल्लाभर तथा छिमेकी जिल्लाबाट समेत गर्भवतीहरु प्रसूति सेवा लिन आउने गरेका छन् ।

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रायका अनुसार साउनदेखि अहिलेसम्म नर्मल र सिएस दुवैतर्फ एक हजार गर्भवतीलाई प्रसूति सेवा प्रदान गरिएको छ । स्थानीयस्तरमै निःशुल्क सिएस सेवा प्राप्त हुँदा यसभेगका गर्भवतीलाई प्रसूतिका लागि जनकपुर, वीरगञ्जलगायतका सहरमा लैजानुुपर्ने बाध्यता अन्त्य भएको छ । आर्थिकरुपमा धेरै सहुलियत भएको सेवाग्राहीले बताउने गरेका छन् ।

लालबन्दी नगरपालिकाले संस्थागत प्रसूति अर्थात् अस्पतालमै आएर प्रसूति सेवा लिन प्रोत्साहन गर्ने उद्देश्यले नगरभित्रका गर्भवतीलाई प्रसूति सेवाका लागि घरसम्म नै लिन जाने र सुत्केरी भएपछि घरसम्म पुु¥याउन जान निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएको नगर उपप्रमुख कल्पनामाया पाख्रिनले बताईन् ।