श्रीनगर, १७ बैशाख – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरका पूर्ण अपाङ्ग विजयकुमार सिंहको परिवारलाई दुुईवटा राँगा सहयोग गरिएको छ ।
सिंहको परिवारलाई रुपान्तर नेपालले राँगा उपलब्ध गराएको हो । अतिविपन्न सिंह परिवारलाई जीविकोपार्जनमा टेवा पुुगोस् भनी राँगा उपलब्ध गराइएको वडाध्यक्ष तिलबहादुर तामाङ (तिलक) ले जानकारी दिए ।
आज बिहान नगरप्रमुख मनोजकुमार आचार्यको उपस्थितिमा सिंह र उहाँको परिवारलाई ३५ हजार रुपियाँ बराबरको दुुईवटा राँगा हस्तान्तरण गरिएको हो । पूर्णरुपमा अपाङ्ग रहेका सिंहलाई नगरप्रमुखकी पत्नी सुनिता श्रेष्ठ आचार्यले व्यक्तिगत खर्चमा एक थान ह्वील चेयर प्रदान गरेकी छन् ।
अरुको सहायताबिना हिँडडुल गर्न नसक्ने विजयलाई ह्वील चेयर प्राप्त गरेपछि हिँडडुल गर्न र आफूहरुलाई आयआर्जनका लागि राँगा सहयोग गरेपछि सिंह परिवारले खुसी व्यक्त गरेका छन् ।