बागमती, १२ बैशाख – सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासहित ६ जनाविरुद्ध वन मुद्दा दायर भएपछि माओवादी केन्द्रले आपत्ति प्रकट गरेको छ ।
माओवादी केन्द्र बागमती नगर कमिटीले आज प्रेस विज्ञप्ती जारी गर्दै वन मुद्दा दर्ता गरिएको घटनाका सम्वन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । नगर कमिटी अध्यक्ष चित्रबहादुर तुम्सिङले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा योजनावद्ध विकास कार्यलाई राजनीतिक बदला, कूप्रचार र व्यक्ति विशेषको चरित्र हत्या गर्ने उद्देश्यले मुद्दा दर्ता गरिएको आरोप लगाइएको छ ।
बागमती माछा पोखरी (भरत ताल) बागमती नगर क्षेत्रको पर्यटकीय, वातावरण सन्तुुलन तथा स्थानीय रोजगारी प्रवद्र्धनको महत्वपूर्ण भएको विज्ञप्तीमा उल्लेख छ । माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुख थापा र समग्र नगर कार्यपालिकाको योगदान जनपक्षिय तथा पारदर्शी रहेको र अदालतले निर्दोषलाई न्याय दिने माओवादी केन्द्र बागमतीेले प्रेस विज्ञप्तीमार्फत आश व्यक्त गरेको छ ।
यसअघि हिजो मुद्दा दायर हुनासाथ माओवादी केन्द्र हरिवन नगर कमिटीका अध्यक्ष अर्जुन पन्तले प्रेस विज्ञप्ती जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारको राजनीति प्रतिशोधपूर्ण र विकास विरोधी कार्यको विरुद्ध दृढरुपमा उभिने उल्लेख गरेका थिए ।
मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यस्थल बनेको बागमती माछा पोखरी (भरत ताल) सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरेर बनाइएको भन्दै डिभिजन वन कार्यालय सर्लाहीले हिजो सर्लाही जिल्ला अदालतमा मेयर थापा, उपमेयर लीलाकुमारी मुुक्तानसहित ६ जना विरुद्ध करिव डेढ अर्व बिगो दाबीसहित वन मुद्दा दायर गरेको थियो ।
मेयर थापा र उपमेयर मुक्तान विरुद्ध एक वर्षअघि भ्रष्टाचारको आरोपमा अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले उच्च अदालतमा मुद्दा दायर गरेकाले उनीहरु एक वर्षदेखि अहिलेसम्म निलम्बनमा रहेका छन् ।