logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एक साताभित्र उखुको क्रसिङ विवरण उपलब्ध गराइदिन कोलेनिकाको पत्र


  • उज्यालो अभियान

मलंगवा, १२ बैशाख – कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवा सर्लाहीले जिल्लाका तीनवटै चिनी मिललाई एक साताभित्र उखु क्रसिङको विवरण उपलब्ध गराउन पत्र काटेको छ ।

कार्यालयले बैशाख १० गते जिल्लाको इन्दुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई पत्र काट्दै कुन किसानबाट कति उखु खरिद गरियो भन्ने विवरणसहित उपलब्ध गराउन पत्राचार गरेको हो । उखु कृषकहरुलाई अनुदान रकम भुक्तानी दिने समितिको बैशाख ९ गते बसेको बैठकले ढाँचा अर्थात् फम्र्याट नै तयार पारेर विवरण माग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम तीन वटै चिनी मिललाई पत्र पठाइसकिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख कोष नियन्त्रक पुुष्पप्रसाद गुरागाईंले जानकारी दिए । कोलेनिकाले पत्र काटेपछि हिजो जिल्लाका तीनवटै चिनी मिलका संचालक तथा कर्मचारी कोलेनिका मलंगवा पुुगेका थिए ।

उनीहरुले एउटै किसानको धेरै वडामा खेत रहेकाले सबैको वडा केलाएर पठाउन समस्या रहेको र अन्य विवरण भने प्राप्त फम्र्याटकै आधारमा उपलब्ध गराउन सक्ने बताएका छन् ।

प्रमुख कोष नियन्त्रक गुरागाईंले वास्तविक विवरणमा तलमाथि नपर्ने गरी चिनी मिललाई पनि सहज हुने गरी नै विवरण उपलब्ध गराउन भनिएको बताए ।

उखु किसानको विवरण संकलन गरी चाँडो बजेट निकासा हुन अनुदान रकम एकिन गरी कृषि विभागमार्फत मन्त्रालयमा पठाइने कोलेनिका मलंगवले जनाएको छ ।