logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

एमाले बागमती नगर कमिटीको अध्यक्षमा बस्नेत सर्वसम्मत


  • उज्यालो अभियान

बागमती, १० बैशाख – सर्लाहीको बागमतीमा नेकपा एमालेको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा टंकबहादुर बस्नेत (गोकुल) सर्वसम्मत चयन भएका छन् ।

गएराति अबेर सीता प्यालेस होटलमा सम्पन्न नगर अधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । बस्नेत यसअघि पनि नगर कमिटीको अध्यक्ष थिए ।

नवगठित कमिटीमा जीवछ महतो उपाध्यक्ष, कुलबहादुर ब्लोन सचिव, कमलबहादुर खपाङ्गी र सर्मिला काफ्ले उपसचिवमा चयन भएका छन् । ५ पदाधिकारीसहित ५७ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए ।

नगर अधिवेशनको हिजो मध्यान्ह पार्टीका जिल्ला इन्चार्ज हरिप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।

सर्लाहीमा नेकपा एमालेले २० पालिकामध्ये अहिलेसम्म लालबन्दी, हरिवन, हरिपुर, कविलासी, बागमती, धनकौल र चन्द्रनगरमा गरी ७ पालिकामा पालिका स्तरीय कमिटी चयन गरिसकेको छ । यि ७ मध्ये लालबन्दीबाहेक अन्यत्र सर्वसम्मत नेतृत्व चयन भएको हो ।

बाँकी पालिकाहरुमा पनि अब क्रमशः कमिटी चयन गर्दै जाने जिल्ला कमिटी उपाध्यक्ष प्याकुरेलले बताए ।