logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा


  • उज्यालो अभियान

लालबन्दी, ०९ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

मातृ तथा नवजात शिशुको मृत्युदर घटाउने र संस्थागत सुत्केरी अर्थात् स्वास्थ्य संस्थामै आएर प्रसूति सेवा लिने दर बढाउने उद्देश्यले नगरपालिका कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो । नगर अस्पताल लालबन्दीमा राखिने एम्बुलेन्सले नगरभित्रका १७ वटै वडामा प्रसूति सेवाका लागि गर्भवतीलाई घरमा लिन जाने र प्रसूतिपश्चात घरसम्म नै पुर्याउन जाने व्यवस्था मिलाइएको नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले उज्यालो अभियानसँग बताए ।

लालबन्दी नगरपालिकाले २० लाख आठ हजार ७४ रुपैयाँमा एम्बुलेन्स खरेद गरेर संचालनमा ल्याएको हो । नगर अस्पतालका मेसु डा. चौधरीले नगरपालिकाले बनाएको कार्यविधि अनुसार यही बैशाख ३ गतेदेखि गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिए ।

मंगलबार दिउँसोसम्म ८ जना सुत्केरीले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरिसकेका अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा. चौधरीका अनुसार नगरपालिकाको १७ वटा वडामा स्थायी बसोवास भएका वा अन्यत्रबाट यहाँ आएर बसोवास गर्ने सुत्केरी तथा गर्भवतीलाई समेत निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ ।

डा. चौधरीका अनुसार गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सूरु भएको सूचनासहित नगरपालिकाको कार्यपालिका बैठकबाटै एम्बुलेन्स चालकको नम्बर जनप्रतिनिधि, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख र महिला स्वास्थ्य स्वयंसेविकालाई एम्बुलेन्स चालकको मोवाइल नम्बर उपलब्ध गराइएको छ । “गर्भवतीलाई डेलिभरीका लागि अस्पतालसम्म आउँदा र डेलिभरी भएपछि घरसम्म जानका लागि नगरपालिकाले दिएको एम्बुलेन्स प्रयोग गर्दा कुनै शुल्क तिर्नु पर्दैन्,” डा. चौधरीले भने, “एम्बुलेन्सको सुविधापछि संस्थागत सुत्केरीको दर अझ बढ्ने अपेक्षा छ ।”

लालबन्दी नगरपालिकाले अघिल्लो वर्षको फागुनदेखि नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. रामविश्वास रायसहित अन्य आवश्यक स्वास्थ्यकर्मी नियुक्त गरेर शल्यक्रिया (सिएस) मार्फत प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ । सिएस सेवा सुरु भएपछि नगरभित्र संस्थागत सुत्केरीको दर ४८ प्रतिसतबाट बढेर ७६ प्रतिसत पुुगेको नगर अस्पताल लालबन्दीको तथ्यांकमा उल्लेख छ ।

नगरपालिकाको उत्तरी चुरेक्षेत्रको दुुर्गम गाउँबाट स्वास्थ्य संस्थामा प्रसूतिका लागि आउन नसकिरहेका गर्भवतीलाई निःशुल्क एम्बुलेन्सले टेवा पुुग्ने अपेक्षा गरिएको नगर उपप्रमुख कल्पनामाया पाख्रिनले बताईन् । नगर उपप्रमुख पाख्रिनले भनिन्, “अब निःशुल्क एम्बुलेन्स भएपछि चुरेभेगका दुुर्गम गाउँसहित १७ वटै वडामा पिछडिएको तथा अतिविपन्न वर्गका सुत्केरी र गर्भवतीलाई पनि टेवा पुुग्छ ।”

प्रसूतितर्फ अप्रेसन गरेर डेलिभरी गराउने सेवा र ओपिडीमा मेडिकल अधिकृतहरु बसेर उपचार सेवा दिन थालेपछि नगर अस्पताल लालबन्दीमा बिरामीको चाप बढ्दोक्रममा रहेको छ । स्वास्थ्य बीमा समेत संचालनमा रहेको यस अस्पतालमा दैनिक ३०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका अस्पतालका सूचना अधिकारी हिमान्सु कर्णले जानकारी दिए ।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले अस्पताल सुधारको अभियान अन्तर्गत निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याइएको बताउनुुभएको छ । “नगरपालिकाको स्रोत साधनले भ्याएसम्म अस्पतालमा स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति नियुक्त गर्ने, औजारउपकरणको व्यवस्थापन मिलाउने काम गरिरहेका छौँ,” नगर प्रमुख अधिकारीले भने, “अस्पताल सुधार र संस्थागत तथा सुरक्षित सुत्केरी हुने दर बढाउने अभियानकै क्रममा अहिले एम्बुलेन्स पनि थप गरेका हौँ ।”