आजको खेलमा बिजयी भएको हरिपुर २ को टिम ।
हरिपुर, ०७ बैशाख – सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर २ ले बिजयी सुरुवात गरेको छ ।
आज सम्पन्न उद्घाटन खेलमा वडा नम्बर १ लाई टाइबे्रकरमा ४ का विरुद्ध ५ गोल गर्दै आयोजक वडा नम्बर २ ले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट एक÷एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट अन्तिम नतिजा निकालिएको आयोजकले जनाएको छ ।
बैशाख १५ गते फाइनल खेल हुने प्रतियोगितामा नगरपालिकाको ९ वटै वडाले सहभागिता जनाएका छन् । बिजेतालाई ७५ हजार तथा उपबिजेतालाई ४० हजार नगदसहित शिल्ड र मेडल प्रदान गरिने आयोजक नव संघर्षशील युवा क्लबका अध्यक्ष अमृतकुमार घिसिङले जानकारी दिएका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहका अतिथि ।
प्रतियोगिताको आज दिउँसो हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा नगर उपप्रमुख निलमदेवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, शिक्षा अधिकृत नागेश्वर राय, विभिन्न वडाका वडाध्यक्ष, कर्मचारी र खेलकुदसँग सरोकार राख्ने निकाय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।