logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा भारतबाट मजदुरी गरेर आएका ३९ जनामा औलो देखियो


  • उज्यालो अभियान

पुनर्वास, ०७ बैशाख – सर्लाहीमा चालू आर्थिक वर्षमा भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण देखा परेको छ ।

मलेरियालाई औलो पनि भनिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोजकुमार झाले चालु आर्थिक वर्षमा ३९ जनामा मलेरियाको सङ्क्रमण पुष्टी भएको उज्यालो अभियानसँग बताए ।

भारतको सुरत, मुम्बई, दिल्लीलगायतका स्थानमा मजदुरी गरेर फर्किएका बलरा, लालबन्दी, पर्सा, हरिपुर, हरिवनलगायत पालिकाका व्यक्तिमा मलेरिया देखिएको झाले बताएका हुन् । झाका अनुसार भारतको सुरतबाट आउनेहरुमा मलेरियाको सङ्क्रमण बढी देखिएको छ ।

जिल्लाभर फेला परेका ३९ जना मलेरियाका सङ्क्रमितमध्ये २० जना भन्दा बढी सीमावर्ती बलरा नगरपालिका–२, हथियौल जमुनिया गाउँका रहेका छन् । भारतमा बिरामी परेर काम गर्न नसक्ने भएर आएपछि बलरास्थित प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा गएर स्वास्थ्य परीक्षण गराउँदा उनीहरुमा मलेरिया पुुष्टी भएको हो ।

पछिल्लो पटक केही दिनअघि लालबन्दी नगरपालिका–२, पुनर्वासका एक पुरुषमा मलेरिया सङ्क्रमण देखिएको छ । भारतको सुरतमा मजदुरी गरेर फर्किएका ती पुरुषले प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा गएर परीक्षण गराउँदा मलेरिया पुुष्टी भएको हो ।

मलेरिया पुुष्टी भएका पुरुषको सम्पर्कमा आएका परिवारका सदस्य र छरछिमेकी ३६ जनाको अस्ती शुक्रबार बस्तीमै पुुगेर परीक्षण गरिएको छ । ३६ जना कसैमा पनि मलेरिया नरहेको पाइएको आधारभूत स्वास्थ्य सेवा केन्द्र पुनर्वासका कार्यालय प्रमुख सन्तोषकुमार साहले उज्यालो अभियानसँग बताए ।

स्वास्थ्यकर्मीका अनुसार एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा मलेरियाको परजीवी सर्छ र यो रोगको सङ्क्रमण हुन्छ । मलेरिया सङ्क्रमण गराउने लामखुट्टे धेरैजसो राति सक्रिय हुन्छन् । मलेरिया हुँदा टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिने गरेको छ ।