लालबन्दीमा बालिकालाई भिटामिन ए क्याप्सुल खुवाउँदै महिला स्वास्थ्य स्वयंसेविका । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, ०६ बैशाख – सर्लाहीमा आजबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सुरु गरिएको छ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत जिल्लामा ८५ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशील झाले जानकारी दिए । झाका अनुसार आज छुट भएका बालबालिकालाई भोली पनि भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ ।
यही अभियानमा जिल्लामा एक वर्षदेखि पाँच वर्षसम्मका एक लाख १५ हजार बालबालिकालाई जुकाको औषधि (अल्बेडाजोल) समेत खुवाउने कार्यक्रम चलिरहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । गएको वर्ष प्रदेशबाट एक लाख १५ हजार क्याप्सुल भिटामिन ‘ए’ पठाइएकोमा यो वर्ष ८५ हजार क्याप्सुल मात्रै प्राप्त भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झाले बताए ।
पालिकाहरुबाट बालबालिकाको वास्तविक विवरण नआउँदा समस्या भएको भन्दै उनले प्राप्त भिटामिन ‘ए’ क्याप्सुल जिल्लाका लागि पर्याप्त नै हुने आँकलन गरिएको बताए । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन पालिकाहरुले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेका छन् ।
स्वयंसेविकाले चोक, चौतारा र अन्य सार्वजनिक स्थल तथा कतिपयले घरघरमै समेत पुुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने काम गरिरहेका छन् ।
महिला स्वयंसेविकाका अनुसार आज पहिलो दिन नै भिटामिन ‘ए’ खुवाउन ल्याउने बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको थियो ।
छुटेकालाई भोली एक दिन खुवाइने भएकाले आफ्नो नजिकका महिला स्वास्थ्य स्वयंसेविकालाई भेट्न स्वास्थ्य कार्यालय सर्लाहीले आग्रह गरेको छ ।