logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

परियोजनाका कर्मचारीले ११ महिनादेखि तलब पाएनन्


  • उज्यालो अभियान

सागरनाथ, २५ चैत – सागरनाथ वन विकास परियोजनाका कर्मचारी र मजदुरले विगत ११ महिनादेखि तलब पाउन सकेका छैनन् ।

गएको बैशाख महिनादेखि तलब नपाउँदा चाडबाड मनाउन, छोराछोरी पढाउन, औषधि उपचार गर्न र दैनिक छाक टार्न ऋण लिनुपरेको कर्मचारी र मजदुरले गुनासो गरेका छन् । उनीहरुले तलब माग गर्दै वन तथा वातावरण मन्त्री र नेपाल सरकारका मुख्यसचिवलाई पत्र काटेर हारगुहार गरेका छन् ।

सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालय मातहत रहेको वन पैदावार विकास समितिबाट आवश्यक नीतिगत निर्णय नहुँदा ११ महिनासम्म तलब नपाएको परियोजनाको मजदुर युनियनका अध्यक्ष सन्तोष साह तेलीले गुनासो गरे । सागरनाथ वन विकास परियोजना सर्लाही, महोत्तरी र रौतहट गरी तीन जिल्लाको १३ हजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

सङ्घ वा प्रदेश सरकार कस्को मातहत रहने भन्ने विवादको चङ्गुलमा फसेको परियोजनामा कार्यरत निजामती कर्मचारी र मजदुरले पछिल्ला केही वर्षदेखि यसैगरी महिनौसम्म तलबविहीन भएर काम गर्न बाध्य भइरहेका छन् । परियोजनाका कर्मचारी र मजदुरले एक हप्ताभित्र तलब नपाए हड्तालमा उत्रने चेतावनी दिएपछि परियोजनाका प्रमुख खेमलाल विश्वकर्मा वन तथा वातावरण मन्त्रीसँग भेट गर्न सङ्घीय राजधानी काठमाडौं पुुगेका छन् ।

परियोजनाका प्रमुख विश्वकर्माले गएको भदौदेखि वन पैदावार विकास समिति अध्यक्षविहीन रहेकाले नीतिगत निर्णय हुन नसक्दा कर्मचारी र मजदुर करिव एक वर्षसम्म तलबविहीन भएर बस्नुुपरेको बताए । कर्मचारी र मजदुरले तलब पाउने व्यवस्था मिलाउनकै लागि आफू मन्त्री भेट्न काठमाडौं पुुगेको परियोजना प्रमुख विश्वकर्माले जानकारी दिए ।

आफू परियोजना प्रमुख भएर आएपछि ५० क्यूबिकफिट काठ बिक्री गरेर डिजेल र पेट्रोलको पुरानो पैसा तिरेको र कर्मचारीलाई केही महिनाको तलब समेत खुवाएपनि त्यसपछि भने सङ्घीय सरकार मातहतको वन पैदावार विकास समिति नै पदाधिकारीविहीन बनेपछि तलब निकासा, परियोजनामा भएका काठ बिक्री तथा काठ कटानको काम ठप्प भएको विश्वकर्माले बताए ।

सागरनाथ वन विकास परियोजनामा ९३ जना ज्यालादारी मजदुर र ४१ जना कर्मचारी कार्यरत रहेका छन् ।

सरकारले वन पैदावार विकास समितिको अध्यक्ष नियुक्त गर्न बेवास्ता गर्दा सर्लाही, महोत्तरी र रौतहटमा फैलिएको सागरनाथ वन विकास परियोजना र झापामा रहेको रतुुवामाई वृक्षारोपण आयोजनाका कर्मचारी समेत लामो समयसम्म तलबविहीन हुनुुपरेको हो ।