logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

एमाले लालबन्दी निर्वाचन : २९९ मत खस्यो, मतगणना सुरु


  • उज्यालो अभियान

लालबन्दी, २४ चैत – नेकपा एमाले लालबन्दीको दोस्रो नगर अधिवेशन अन्तर्गत आज भएको मतदानमा २९९ मत खसेको छ ।

लालबन्दी नगरपालिकाको १७ वटै वडाबाट छानिएर आएका प्रतिनिधि र निर्वतमान नगर कमिटीमा रहेका ५१ जना सहित जम्मा ३०९ जना प्रतिनिधिमध्ये २९९ जनाले मतदान गरेका निर्वाचन अधिकृत कमल पौडेलले उज्यालो अभियानलाई जानकारी लिए । पौडेलका अनुसार १० जना प्रतिनिधि मतदानमा सहभागी भएनन् ।

लालबन्दी ६ स्थित प्रहरी कार्यालय छेउको मदन आश्रीत भवनमा दिउँसो २ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्यो । मध्यान्ह १२ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि मतपत्र छापिएर आउन ढिलाई हुँदा २ घण्टा ढिलो गरी मतदान सुरु भएको थियो ।

निर्वाचन अधिकृत पौडेलका अनुसार अहिले भर्खरैबाट मदन आश्रीत भवनमै मतगणना समेत सुरु भइसकेको छ । विवाद नभए एक/डेढ घण्टाभित्रैमा मतगणना सकेर नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।

एमाले लालबन्दीको अध्यक्षमा ४ जनाको उम्मेदवारी परेपनि आज अन्तिम समयमा माधवप्रसाद खरेल र लीलाकुमार बानियाँले उम्मेदवारी फिर्ता लिएका छन् । उज्वलकुमार कार्की र प्रेमप्रसाद आचार्य (उमेश) मात्रै प्रतिस्पर्धामा छन् ।

उपाध्यक्ष, सचिव र सह–सचिव महिला तथा पुरुष दुवैमा एक जना भन्दा बढीको उम्मेदवारी परेका मतदान भएको छ । कार्की र आचार्यको प्यानलले नै पदाधिकारीमा प्रतिस्पर्धा गरेका छन् ।

सहसचिवमा विपिन भण्डारीको उम्मेदवारी फिर्ता भएको छ । एमाले लालबन्दीको दोस्रो नगर अधिवेशनको हिजो उद्घाटन भएको थियो ।

हिजो बेलुकासम्म सहमतीमै नेतृत्व चयन गर्ने प्रयास गरिए पनि सहमती हुन नसकेपछि आज मतदान गराइएको हो ।

हिजै हरिपुरमा एमाले हरिपुर नगर कमिटीको पहिलो नगर अधिवेशनमा एक पक्षको बहिष्कारका बिच अर्को पक्षले एकलौटी ढंगले नगर कमिटी घोषणा गरेको थियो ।