logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

खुला सीमाबाट भित्रने भारतीय तरकारी बिक्री गर्न रोक


  • उज्यालो अभियान

लालबन्दी थोक तरकारी बजार ।

लालबन्दी, २४ चैत – सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा अवैध ढङ्गले भित्रने भारतीय तरकारी बिक्री गर्न रोक लगाइएको छ ।

भन्सार छलेर मोटरसाइकलमा ल्याइने भारतीय तरकारीका कारण यहाँका किसान मारमा परेको भन्दै कृषि थोक बजार व्यवस्थापन समितिले अवैध भारतीय तरकारी बिक्री गर्न बन्देज लगाएको हो । भारतबाट नाकामा भन्सार नबुुझाई ल्याएर सस्तो मुल्यमा तरकारी बेच्दा यहाँका किसानले उत्पादन गरेको तरकारीले मुल्य नपाउने अवस्था आएपछि यस्तो निर्णय गरिएको बजार समितिका अध्यक्ष प्रमोदप्रसाद थपलियाले बताए ।

जिल्लाकै प्रमुख थोक तरकारी बजार भएकाले २० वटै पालिकाका किसानले निर्वाधरुपमा तरकारी ल्याएर बिक्री गर्न सक्ने तर खुला सीमानाकाबाट मोटरसाइकलमा ल्याएर बिक्री गर्ने भारतीय तरकारीमा रोक लगाइएको बजार समितिले जनाएको छ । तर यो निर्णय कार्यान्वयन हुन भने गाहै्र रहेको बजारका व्यापारीहरु नै बताउँछन् ।

सीमापारी भारतीय गाउँबाट लालबन्दी बजारमा दैनिक १८/२० वटा मोटरसाइकलमा भारतीय तरकारी भित्रने गरेको छ । मोटरसाइकलमा एकै जनाले १५० देखि २०० किलोसम्म तरकारी ल्याउने गरेका पाइएको छ ।

तरकारी बजारका कतिपय व्यापारीले भारतबाट चोर बाटो हुँदै ल्याइने तरकारी ८/१० प्रतिसत कमिशन लिएर आफ्नो स्टल अगाडि राखेर बिक्री गर्न दिने गरेको पाइएकाले त्यस्ता व्यापारीलाई सचेत गराइएको अध्यक्ष थपलियाले बताए ।

बजार समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले भन्सार तिरेर विभिन्न नाकाबाट भित्रने भारतीय तरकारीमा भने कुनै प्रतिवन्ध नरहेको प्रष्ट पारेका छन् ।