logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ताल र पोखरी ठेक्का लिएका ठेकेदारसँग ३ करोड ४५ लाख उठ्न सकेन


  • उज्यालो अभियान

चन्द्रनगर गाउँपालिकाको कार्यालय । (तस्बीर : उज्यालो अभियान)

चन्द्रनगर, २३ चैत – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नाढीमन ताल र पोखरी ठेक्का लिएका ठेकेदारले ठेक्का अवधि गुज्रिएको लामो समय भइसक्दा समेत ठेक्का रकम बुुझाउन अटेरी गरेका छन् ।

गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको नाढीमन ताल र ११ वटा पोखरी ठेक्काको रकम नउठ्दा विकासको काम प्रभावित भएको गाउँपालिकाले जनाएको छ । ताल र पोखरी ठेक्का लिएका ठेकेदारले त्यहाँ उत्पादन भएको माछा बिक्री गरिसके पनि ठेक्काको रकम बुुझाउन भने बेवास्ता गरेका छन् ।

नाढीमन तालको ठेक्का लिएका दुलार मुखियाबाट मात्रै करसहित एक करोड ८९ लाख रुपियाँ उठन बाँकी रहेको गाउँपालिकाले दावी गरेको छ । मुखियालाई गाउँपालिकाले पाँच वर्षका लागि छ करोड १९ लाख रुपियाँमा नाढीमन ताल ठेक्का दिएको थियो । उनको ठेक्का अवधि दुुई वर्षअघि अर्थात् २०८० वैशाख ६ गते नै सम्पन्न भइसकेको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सबैभन्दा बढी ठेक्का रकम बुुझाउन बाँकी मुखियालाई बाँकी रहेको ठेक्का रकम बुुझाउन १५ पटक लिखित ताकेता नै गरिएको पत्रकारमाझ बताएका छन् । सम्झौता अनुसार ठेक्का रकम बुुझाउन आउनुुको साटो ठेकेदारको तर्फबाट अदालतमा विभिन्न मुद्दा मामला गरेर उल्टै गाउँपालिकालाई नै अनेक अल्झनमा पार्ने काम भएको गाउँपालिका अध्यक्ष महतोले बताए ।

गाउँपालिका अध्यक्ष राजकुमार महतो ।

ठेक्काको रकम उठाइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा समेत कुनै उपाय नलागेको गाउँपालिकाले जनाएको छ । पाँच वर्षका लागि ताल ठेक्कामा लिनुुभएका मुखियाले २०८० बैशाख ६ गतेअघि नै ताल नै सुकाएर सबै माछा निकालेर लगेको गाउँपालिका अध्यक्ष महतोले बताए ।

माछा निकाल्दा पानी सुकाइएको ताल दुुई वर्षपछि पुनः अहिले पानी भरेर पहिलेकै अवस्थामा फर्काउने प्रयास गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादवले सुनाए । ठेकेदार मुखियाले भने आफूले ताल ठेक्का लिएकै पहिलो वर्ष बाढी आएर माछा बगाएको र दोस्रो वर्ष कोरोना सङ्क्रमणको कहरका कारण माछा बिक्री गर्न नपाएर समस्या परेको बताए ।

चार किस्ता सरासर बुुझाएको, अन्तिम किस्तामा समेत १५ लाख रुपियाँ बुुझाएको र धरौटीमा ३४ लाख रुपियाँ रहेकाले पालिकालाई बुुझाउन बाँकी रकम छुट गरिदिन माग गरेको बताए ।

गाउँपालिकाले छुट दिन इन्कार गरेपछि आफू अन्यायमा परेको भन्दै अदालतको शरणमा गएको मुखियाले बताएका छन् । नाढीमन तालबाहेक अन्य ११ वटा पोखरी ठेक्का लिएका ठेकेदारबाट पनि ठूलो रकम उठ्न बाँकी रहेको र यसैगरी ताकेता गरिरहे पनि अटेर गरिएको गाउँपालिकाले जनाएको छ ।

चतुरभुजी दहका ठेकेदार रामइश्वर मुखियासँग २९ लाख २१ हजार, गोपीवाला पोखरीका ठेकेदार रामकेवल मुखियासँग चार लाख ७८ हजार, महुअवा पोखरीका ठेकेदार दुलार मुखियासँग २२ लाख ३३ हजार, लकरिया गोसाई पोखरीका ठेकेदार राजकिशोर राउतसँग तीन लाख सात हजार र मोहनपुर (क) का ठेकेदार रामनारायण महतोसँग १२ लाख ७८ हजार रुपियाँ उठ्न बाँकी रहेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

यस्तै मोहनपुर (ख) पोखरीका ठेकेदार गङ्गीराम महतोसँग ११ लाख १६ हजार, मोहनपुर (ग) पोखरीका ठेकेदार रामविश्वास रायसँग पाँच लाख २९ हजार, लोदवा पोखरीका ठेकेदार रामइश्वर मुखियासँग चार लाख १५ हजार, मङ्गल सहनीवाला पोखरीका ठेकेदार हृदय मुखियासँग १३ लाख ९२ हजार, चतुुर्भूजी दहका ठेकेदार खेमराज रायसँग ४४ लाख ५० हजार र पकडवा दहका ठेकेदार सुमिना देवीसँग ३४ लाख सात हजार रुपियाँ उठ्न बाँकी रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

साम्झौता अवधि गुज्रिसकेका नाढीमन ताल र अन्य ११ वटा पोखरीका ठेकेदारसँग कूल तीन करोड ४१ लाख १४ हजार ६१५ रुपियाँ उठ्न बाँकी रहेको गाउँपालिका अध्यक्ष महतोले बताए ।

गाउँपालिकाले नाढीमन तालसहितका पोखरी पुनः नयाँ ठेक्का लगाउने प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।