हरिवन, १७ चैत – सर्लाहीको हरिवनमा आयोजित कृषि प्रदर्शनीमा साँढे तीन करोड बराबरको कारोवार भएको दावी गरिएको छ ।
हरिवन नगरपालिकाले “मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र, हामी सबैको पहिचान” भन्ने नारासहित वडा नं. ११ स्थित सुर्ति विकास चौरमा चार दिने तेस्रो डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना गरेको थियो । शनिबार बेलुका सम्पन्न प्रदर्शनीमा साँढे तीन करोड बढीको आर्थिक कारोवार भएको अनुमान गरिएको हरिवन नगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीले दावी गरेका हुन् ।
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश दुग्ध विकास बोर्डसँग समन्वय गरी आयोजना गरिएको कृषि प्रदर्शनीको झन्डै ३० हजार जनाले अवलोकन गरेका नगरका प्रवक्ता मैनालीले उज्यालो अभियानलाई जानकारी दिए ।
नगर प्रमुख रमेश बुढाथोकी (कमल) को अध्यक्षता तथा मधेश प्रदेशका कृषि सचिव डा. उमेश दाहालको प्रमुख आतिथ्यतामा भएको प्रदर्शनी समापन समारोहमा ५८ जना कृषि उद्यमीसहित अन्यलाई सम्मान गरिएको मूल आयोजक समितिले जनायो ।
समितिका संयोजक एवं हरिवन नगरपालिका–४, का वडाध्यक्ष केशवराज थापाले कृषिमा भित्रिएको नयाँ प्रविधिको अवलोकन गर्न पाउँदा किसानलाई आधुनिक कृषि औजार तथा प्रविधिप्रति आकर्षित गरेको बताए । उनले प्रदर्शनीमा माटो तथा गोबर परीक्षण शिविर, कृषिविज्ञसँग अन्तरक्रियालगायतका कार्यक्रम गरिएकाले किसानलाई फाइदा पुुगेको बताए ।