logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रोत्साहन गर्न महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान


  • उज्यालो अभियान

कविलासी, १६ चैत – सर्लाहीको कविलासी नगरपालिकाले नगरभित्र कार्यरत प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई आज सम्मान गरेको छ ।

न्यून पारिश्रमिकमा खटिएर गाउँघरमा महत्वपूर्ण स्वास्थ्य सेवा प्रदान गरिरहेका उनीहरुलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको नगरपालिकाको स्वास्थ्य शाखा सह–संयोजक नितु साहले जानकारी दिईन् । नगरपालिकाले १० वटै वडामा कार्यरत ७४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आज गैरस्थित आयुर्वेद भवनमा भेला पारेर सम्मान गरेको हो ।

७४ जनामध्ये प्रत्येक वडाबाट एक/एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई उत्कृष्ट घोषणा गरी सम्मान–पत्रसहित सम्मान गरिएको छ । बाँकी अन्यलाई झोला वितरण गरी सम्मान गरिएको स्वास्थ्य शाखा सह–संयोजक साहले बताईन् ।

सोही कार्यक्रममा अवकाश प्राप्त दुुई जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगरपालिका कार्यालयले सम्मानसहित बिदाई गरेको छ । उत्कृष्ट १० जनामध्ये कविलासी नगरपालिका–२ पिपरियामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका इन्द्रकला सिंहले पहिलो पटक नगरपालिकाबाट यस प्रकारको सम्मान प्राप्त गर्दा असाध्य खुसी लागेको उज्यालो अभियानसँग बताईन् ।

नगर उपप्रमुख पुनम कर्णले ग्रामीण भेगमा खोप कार्यक्रम र प्राथमिक स्वास्थ्य उपचारका लागि अतुलनिय योगदान पुर्याइरहेका महिला स्वयंसेविकालाई आगामी दिनमा थप उत्साहित भइ सेवा प्रवाहका लागि तल्लिनरहन प्रेरित गर्ने उद्देश्यसहित सम्मान गरिएको बताईन् ।