logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा बुधबारदेखि कृषि प्रदर्शनी


  • उज्यालो अभियान

हरिवन, १२ चैत – सर्लाहीको हरिवनमा बुधबारदेखि तेस्रो डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ ।

आयोजक हरिवन नगरपालिकाले मङ्गलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि आगामी शनिबारसम्म कृषि प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो । कृषि क्षेत्रमा केही गर्छु र सिक्छु भन्ने किसानलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक तथा हरिवन नगरपालिका–१०, का वडाध्यक्ष शम्भुप्रसाद मैनालीले जानकारी दिए ।

प्रदर्शनीस्थलमा दुग्धजन्य तथा कृषि सम्वन्धी ६० वटा स्टल रहने आयोजक हरिवन नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रवक्ता समेत रहेका प्रचारप्रसार समितिका संयोजक मैनालीका अनुसार प्रदर्शनी आयोजना गर्न मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, इन्दुशङ्कर चिनी उद्योग हरिवनलगायत विभिन्न सङ्घसंस्था तथा निकायबाट सहयोग प्राप्त भएको छ ।

गत वर्ष तीन करोड करोबार भएको प्रदर्शनीमा यो वर्ष अझ बढी कारोवार हुने र थप किसान लाभान्वित हुने अपेक्षा गरिएको प्रदर्शनी आयोजक समितिका संयोजक एवं हरिवन नगरपालिका–४, का वडाध्यक्ष केशवराज थापाले बताए । वडाध्यक्ष थापाले कृषि तथा दुधजन्य पदार्थको आधूनिकरण र बजारीकरणमा प्रदर्शनीले साथ लिने अपेक्षा गरिएको बताएका छन् ।

हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले प्रदर्शनीमा दुग्धजन्य र कृषि सम्वन्धी विभिन्न उत्पादन तथा औजार, उपकरण प्रदर्शनीमा राखिने बताईन् । प्रदर्शनीमा बिहीबार लोकदोहोरी गायक राजु परियारसहितको उपस्थितिमा कृषि र डेरी सम्वन्धी मनोरञ्जनात्मक तथा सचेतनामूलक साँस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ ।

“मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र, हामी सबैको पहिचान” भन्ने मूल नारासहित आयोजित कृषि प्रदर्शनीको बुधबार मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्रीले उद्घाटन गर्ने हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष महबुव रेजाले जानकारी दिए । २८ देखि ३० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको तेस्रो डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनीको करिव ४० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।