फाइल तस्बीर ।
बरहथवा, ०८ चैत – माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत आज दोस्रो दिन सर्लाहीमा एक जना विद्यालय सहयोगी पक्राउ परेका छन् ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ नेतृत्वको अनुुगमन टोलीले अनुुगमनका क्रममा गोजीभरी चिट बोकेर हिँडेको फेला पारेपछि बरहथवा नगरपालिका–५, हात्तिडण्डास्थित जनहित मलभोगिया मुनिलाल माध्यमिक विद्यालय परीक्षा केन्द्रमा विद्यालय सहयोगी देवनाथ महतो पक्राउ परेका हुन् । महतोले लगाएको प्रत्येक कपडाको गोजी खानतलासी लिँदा चिट बरामद भएपछि तत्कालै नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उज्यालो अभियानसँग बताए ।
परीक्षाको मर्यादा विपरीत गतिविधि गर्ने विद्यालय सहयोगी महतोलाई कारवाहीस्वरुप केही समय नियन्त्रणमा लिएर छाड्न प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए । एसइई अन्तर्गत सर्लाहीमा हिजो पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा हरिपूर्वा र बलराबाट तीन जना परीक्षा निरीक्षक र मुसैलीबाट एक जना विद्यालय सहयोगी निष्काशनमा परेका थिए ।
पक्राउ तथा निष्काशनमा परेका कर्मचारी बाँकी परीक्षामा सामेल हुन नपाउने शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले बताएका छन् ।
सर्लाहीमा एसइई दिनका लागि फारम भरेका १२ हजार ३४ जना परीक्षार्थीमध्ये आज दोस्रो दिनको परीक्षामा ११ हजार ९६ जना परीक्षार्थी परीक्षामा सामेल भएका छन् ।