परवानीपुर, ०८ चैत – सर्लाहीमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको शाखा गठन गरिएको छ ।
जिल्लाको पर्यटकीयस्थल लालबन्दी नगरपालिका–१५, परवानीपुर बोहोरेडाँडामा सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट लालबन्दी निवासी महेन्द्र महतो अध्यक्ष रहने गरी प्रतिष्ठानको १५ सदस्यीय जिल्ला शाखा निर्माण गरिएको हो । नवगठीत प्रतिष्ठानको उपाध्यक्षमा सन्तोषकुमार कर्ण, महिला उपाध्यक्षमा मीनाकुमारी देवकोटा, सचिवमा क्षितिज विश्वकर्मा, सह–सचिवमा मदन नेपाल, कोषाध्यक्षमा चन्द्रबहादुर जिम्बा र अन्य सदस्य चयन भएका छन् ।
लोक तथा दोहोरीगीतको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतिष्ठानको जिल्ला शाखा गठन गरिएको प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्णप्रसाद गौतमले बताए । लालबन्दी नगरपालिका १६ परवानिपुरका वडाध्यक्ष गणेशबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित जिल्लाका लोक तथा दोहोरीगीतका पारखीको भेलामा राष्ट्रिय लोक तथा दोहोर गीत प्रतिष्ठानका केन्द्रीय सदस्य गौतम, प्रतिष्ठानका मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, प्रदेश सचिव विनोद ढुुङ्गेललगायतले मन्तव्य व्यक्त गरेका छन् ।
कार्यक्रमका वक्ताले नेपालीको चिनारी र सँस्कृतिसँग जोडिएको लोक भाका तथा दोहोरीगीत अहिलेको समयमा ओझेलमा पर्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसको संरक्षणमा स्थानीय पालिका तथा अन्य निकायबाट ठोस कदम चाल्नुपर्ने सहभागीको जोड रहेको छ ।