जनज्योति बहुमुखी क्याम्पस लालबन्दीको स्ववियु सभापतिमा निर्वाचित समिर सिंह ।
लालबन्दी, ०६ चैत – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका समिर सिंह निर्वाचित भएका छन् ।
नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल त्रान्तिकारीको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार रहेका सिंह नेपाली कांग्रेस निकट नेविसङ्घका निर्मल अधिकारी (सफल) लाई ८५ मतले पराजित गर्दै स्ववियु सभापतिमा चुनिएका हुन् । सिंह ४१० मतसहित सभापतिमा बिजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
उहाँका प्रतिस्पर्धी नेविसङ्घका अधिकारीले ३२५ मत मात्रै प्राप्त गरे । स्ववियुको अन्य पदाधिकारी तथा सदस्यमध्ये एक जना सदस्यबाहेक सम्पूर्ण पदाधिकारी तथा सदस्यमा संयुक्त प्यानलका उम्मेदवार बिजयी भएका छन् ।
जनज्योति क्याम्पसको स्ववियु सचिवमा संयुक्त प्यानलबाट रोशना पोखरेल (रोजिना) ४०० मत प्राप्त गरी बिजयी हुँदा उनका प्रतिस्पर्धी नेविसङ्घका अरविन्द साहले ३२३ मत ल्याए । कोषाध्यक्षमा संयुक्त प्यानलबाट निकी कुमारी ३७३ मत प्राप्त गरी निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी रितिका चौधरीले ३४४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी स्ववियु सदस्यमा नेविसङ्घबाट एक मात्र उम्मेदवार प्रकृति कुमारीले ३६२ प्राप्त गरी बिजयी भएकी छन् । अन्य सदस्यहरुमा संयुक्त प्यानलबाट शान्तिकुमारी मण्डल ३६५, राहुलकुमार गुप्ता ३८८, असराना बेगम ३७९, सुनिलकुमार साह ३८२, सुमन घिमिरे ४०१, नवीनकुमार महतो ३८२ र रुपेशकुमार साह ३५६ मतसहित बिजयी भएका छन् ।
त्यस्तै समानुपातिकतर्फ अनेरास्ववियुले ३६०, नेविसङ्घले ३३१ र अनेरास्ववियूले ९ मत प्राप्त गरेका छन् भने दुई मत बदर भएको निर्वाचन अधिकृत शिवहरि नेपालले जानकारी दिए । उनका अनुसार स्ववियु निर्वाचन अन्तर्गत मङ्गलबार भएको मतदानमा क्याम्पसको स्नातक र स्नाकोत्तर तहमा भर्ना भएका एक हजार ८४ विद्यार्थीमध्ये ७४७ जना विद्यार्थीले मतदान गरेका थिए ।