logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवाका १५ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन


  • उज्यालो अभियान

मलंगवा, ०१ चैत – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाही सदरमुकाम मलङ्गवामा अवैध ढङ्गले संचालित १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

सदरमुकाम मलङ्गवामा संचालित अस्पतालको गएराति अनुुगमन गर्न आउनुुभएका मुख्यमन्त्री सिंहले दर्ता बिनै संचालित १५ वटा निजी अस्पताल तथा पोलिक्लिनिक तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहले प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल मलङ्गवा र अन्य १८ वटा निजी अस्पतालको अनुुगमन गरेका छन् ।

उनले प्रादेशिक अस्पताल मलङ्गवाको क्यान्टिनमा खुवाइने खानामा स्वच्छता कायम गर्न, आकस्मिक कक्षमा जनशक्ति व्यवस्थापन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकको नम्बर तत्काल मेट्न अस्पतालका प्रमुखलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री अनुुगमनमा आएको थाहा पाउनासाथ गएसाँझ मलङ्गवाका अधिकांश निजी अस्पताल र पोलिक्लिनिकका संचालक तथा कर्मचारी भने अस्पताल बन्द गरेर भागाभाग गरेका थिए ।

यसअघि सर्लाहीकै नवलपुरमा मुख्यमन्त्री सिंह अनुुगमनका लागि आउँदा यसैगरी अवैध अस्पताल सञ्चालकको भागाभाग मच्चिएको थियो । मलङ्गवाका चार÷पाँचवटा बाहेक अन्य निजी स्वास्थ्य संस्थामा ताल्चा लगाएको पाइएको मुख्यमन्त्रीसँगै अनुुगमनमा रहनुुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेशका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले मलङ्गवामा अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालित म्याक्स अस्पताल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसीस सेन्टर, कल्याण हेल्थ केयर, शीतल डेन्टल क्लिनिक, चन्द्रकला पोलिक्लिनिक, इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एव एक्सरे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर, गुप्ता क्लिनिक, सर्लाही पोलिक्लिनिक, सिद्धिदाता हेल्थ केयर र देवश्री पोलिक्लिनिक बन्द गर्न निर्देशन दिए ।

दर्ता भएर नवीकरण दुरुस्त नरहेका जयश्री ओम हेल्थ केयर, तिरुपन्ती बालाजी पोलिक्लिनिक र बह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुुई महिनाभित्र नवीकरण गराउन मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । मलङ्गवाका केही निजी अस्पताल सञ्चालकले स्वास्थ्य संस्था नियमन मापदण्ड बन्दै गरेको भन्दै मलङ्गवा नगरपालिका कार्यालयले अस्पताल नवीकरणको प्रक्रिया अघि बढाउन ढिलो गरिदिएको गुनासो गरेका छन् ।

सरकारी तथा निजी दुवै अस्पतालमा व्यापक लापरवाही देखिएपछि मुख्यमन्त्री सिंह अहिले प्रदेशभरकै स्वास्थ्य संस्थाको अनुुगमन गर्ने अभियानमा रहेका छन् ।