logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

१३ वर्षदेखि सिँचाई ब्यारेज अलपत्र, किसान पम्पिङसेटको भर पर्न बाध्य


  • उज्यालो अभियान

सोरम खोलाको अलपत्र सिँचाई ब्यारेज (तस्बीर : उज्यालो अभियान)

गोडैता, २८ फागुन – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिका–२, बेल्वाजब्दीमा सोरम खोला सिँचाई योजना १३ वर्षदेखि अलपत्र पर्दा स्थानीय किसान मारमा परेका छन् ।

आर्थिक वर्ष २०६८/६९ मा तत्कालिन सिँचाई मन्त्री महिन्द्रराय यादवले शिलान्यास गरेर सोरम खोलामा निर्माण गरिएको सिँचाई ब्यारेज अहिले अलपत्र अवस्थामा रहेको छ । ब्यारेज निर्माण भएको केही समयपछि नै बाढी आएर पश्चिमतर्फको भागमा क्षति पुुर्याएदेखि अलपत्र रहेको हो ।

बाह्रैमास बग्ने सोरम खोला (बघी नदी र सत्यलाल सिंहको पैनी) को पानी त्यसै खेर गइरहेको छ । छेउमै खेत रहेका किसान भने पम्पिङ सेट (दमकल) चलाएर सिँचाई गर्न बाध्य भएका छन् ।

गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरका किसान वीरेन्द्र हजारीले अलपत्र ब्यारेज संचालनमा ल्याउन कुनै निकायले चासो नदिएको गुनासो गरेका छन् । ब्यारेज अलपत्र रहँदा गोडैता नगरपालिकाको सीमरा भगवतीपुर, रोहुवा, बेल्वाजब्दी, बहादुरपुर, भटौलिया र पिपरनाथ गाउँका किसानलाई सिँचाईको समस्या भइरहेको छ ।

गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले सोरख खोलाको ब्यारेज संचालनका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएर आएपनि निर्माण व्यवसायीले उपभोक्ता समितिलाई हस्तान्तरण नै नगरेका कारण बजेट खर्च हुन नसकेर फिर्ता गएको उज्यालो अभियानसँग दावी गरेका छन् । ठेकेदारले उपभोक्ता समितिलाई ब्यारेज हस्तान्तरण नगरेकै कारण अलपत्र सिँचाई योजनामा हात हाल्दा अख्तियारले कारवाही गर्ने डर रहेको नगरप्रमुख यादवको भनाई छ ।

ठेकेदारले उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि मात्रै ब्यारेज सूचारु गर्न पालिका वा प्रदेश सरकारले लगानी गर्ने वातावरण बन्ने मेयर यादवले बताएका छन् । जलस्रोत तथा सिंचाई विकास डिभिजन मलङ्गवाले उपलब्ध गराएको विवरण अनुसार सोरम खोला सिँचाई योजना निर्माणका लागि २०६९ साल असार ६ गते रमण कमल जेभी जनकपुरसँग तीन करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

कार्यालयमा भर्खरै सरुवा भएर आएका कार्यालय प्रमुख श्यामकुमार तिमल्सिनाका अनुसार सोरम खोला सिँचाई योजनाको ९९ प्रतिसत काम पूरा भइसकेको विवरण कार्यालयमा भएपनि फरफारक हुन बाँकी रहेको देखिन्छ ।

२७० हेक्टर जग्गामा सिँचाई पुुर्याउने लक्ष्य रहेको सिँचाई योजना लामो समयदेखि अलपत्र रहेकोबारे आफूले थप बुुझ्ने कार्यालय प्रमुख तिमल्सिनाले बताएका छन् । सोरम खोलामा ब्यारेज निर्माण गर्ने निर्माण व्यवसायी बाढी आएर ब्यारेजमा क्षति पुुर्याएपछि सम्पर्कमै नआएका जलस्रोत तथा सिंचाई विकास डिभिजन मलङ्गवाको संस्थागत शाखा प्रमुख लक्ष्मण ठाकुरले बताए ।

सर्लाहीको क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महिन्द्रराय यादवले आफू सिँचाई मन्त्री रहँदा शिलान्यास गरेको ब्यारेज निर्माणकै क्रममा प्राविधिक गढबढी हुँदा बाढी आएर क्षति गरेको उज्यालो अभियानसँग स्वीकार गरेका छन् । अहिले प्रदेश सरकारको उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय मातहत रहेको अलपत्र ब्यारेजलाई सूचारु गर्न प्रदेश सरकारले ध्यान नदिएको प्रतिनिधि सभा सदस्य यादवले आरोप लगाएका छन् ।

अलपत्र ब्यारेजमा प्राविधिक त्रुटी सच्याएर संचालनमा ल्याउन संघीय सरकारलाई घच्घच्याइ रहेको प्रतिनिधिसभा सदस्य यादवको भनाई छ । मेहनती किसान र राम्रो उब्जनी हुने उर्बर खेत रहेको फाँटमा लामो समयदेखि ब्यारेज अलपत्र रहँदा आफूलाई असाध्य दुःख लागेको यादवले बताएका छन् ।