जियाजोर, २० फागुन – सर्लाहीका माझी समुदायले आफ्नो महान पर्व लदी पूजा आज मनाएका छन् ।
यो पर्वलाई कोशी पूजा पनि भन्ने गरिन्छ । सीमान्तकृत माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको साइली मङ्गलबार अर्थात् तेस्रो मङ्गलबार लदी पूजा पर्व मनाउने गरेका छन् ।
सर्लाहीका पाँच पालिकाका विभिन्न बस्तीमा बसोवास गर्ने माझी समुदायले आफूलाई नजिक पर्ने जलाशयमा पुुगेर परम्परागत लदी पूजा गरेका नेपाल माझी उत्थान सङ्घ सर्लाहीका उपाध्यक्ष राजकुमार कुस्वारले जानकारी दिए । उनका अनुसार लदी पूजामा जलाशयमा गएर राँगा, सुँगुर, पाठी, कुखुरा र परेवाको पन्चवली चढाउने परम्परा रहेको छ ।

यस्तै ढुुङ्गाको देवता, बास र सिमली गाडेर डुुङ्गा, माछा मार्ने जाल र फुरुङ्गोको समेत पूजा गर्ने प्रचलन रहेको माझी समुदायका अगुवाले बताएका छन् । माझी समुदायको पुस्तौँदेखि गर्दै आएको पेशा डुुङ्गा तार्दा तथा माछा मार्दा कुनै किसिमको बाधा र मानवीय क्षति नहोस् भन्ने कामना गर्दै लदी पूजा गर्ने चलन छ ।
सर्लाहीमा लखन्देही, बागमती, एकादशीलगायतका खोलामा जम्मा भएर माझी समुुदायले लदी पूजा पर्व मनाएका छन् । लालबन्दी नगरपालिका १२ जियाजोर क्षेत्रका माझी समुदाय लखन्देही खोलामा भेला भएर सामूहिक रुपमा लदी पूजा गरेको स्थानीय मानवीर माझीले जानकारी दिए ।
जियाजोरका माझी समुदायले आफ्नो जातिय पहिरनमा सझिएर पत्थरकोटस्थित लखन्देही खोलामा लदी पूजा गरेका हुुन् । मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा नेपाल माझी उत्थान संघ लालबन्दी १२ र १३ को वडा कमिटीले लखन्देही खोला किनारमा लदी पूजा मनाएको हो ।

सर्लाहीमा लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती र बथहथवा नगरपालिकामा सीमान्तकृत माझी समुदायको बसोवास रहेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार सर्लाहीमा नौ हजार ३७३ जना माझी समुदायको जनसङ्ख्या रहेको छ ।
लदी पूजाको पूर्वसन्ध्यामा हिजो सर्लाहीको पाँचवटै पालिकामा बसोवास गर्ने माझी समुदायले लालबन्दीमा भेला भएर आफ्नो भेषभुुषा र सँस्कृति झल्कने झाँकीसहित कृषि विकास बैङ्कको चौरमा शुुभकामना आदानप्रदान, साँस्कृतिक र सम्मान कार्यक्रम सम्पन्न गरेका थिए ।
लदी पूजाकै अवसरमा लालबन्दी नगरपालिका कार्यालयले आज नगरपालिका र मातहतका कार्यालयमा कार्यरत माझी समुदायका कर्मचारीलाई एक दिन बिदा प्रदान गरेको थियो ।