logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

स्ववियु निर्वाचन : सर्लाहीका तीनवटै क्याम्पसमा सङ्घ–सङ्गठन दर्ता


  • उज्यालो अभियान

लालबन्दी, १९ फागुन – आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सर्लाहीका तीनवटै क्याम्पसमा आज सङ्घ–सङ्गठन दर्ता कार्य सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहत रहेका सर्लाही क्याम्पस मलङ्गवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा स्ववियु निर्वाचनका लागि सङ्घ–सङ्गठन दर्ता कार्य सौहार्दपूर्णरुपमा सम्पन्न भएको हो । तीनवटा क्याम्पसमध्ये जिल्लाकै सबैभन्दा जेठो सर्लाही क्याम्पस मलङ्गवामा ११ वटा विद्यार्थी सङ्घ–सङ्गठन तथा समूह दर्ता भएका क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक कृपानाथ झाले जानकारी दिए । उनका अनुसार दर्ता भएका सङ्घ–सङ्गठन र विद्यार्थी समूहसँग भोली सर्वपक्षिय छलफलको आयोजना गरिएको छ ।

जिल्लाको हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा पाँचवटा विद्यार्थी सङ्घ–सङ्गठन दर्ता भएका क्याम्पसको स्ववियु निर्वाचन समिति संयोजक हरिलाल मैनालीले बताए ।

स्ववियु निर्वाचन हुन लागेका तीनवटा क्याम्पसमध्ये लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा सबैभन्दा कम चारवटा विद्यार्थी सङ्घ–सङ्गठन दर्ता भएका क्याम्पसको स्ववियु निर्वाचन समितिले जनाएको छ । समितिका संयोजक शिवहरि नेपालका अनुसार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (समाजवादी) र अखिल क्रान्तिकारी गरी चारवटा विद्यार्थी सङ्घसङ्गठन दर्ता भएका छन् ।

चैत ५ गतेको निर्वाचनमा आज दर्ता भएकै सङ्घ–सङ्गठन र विद्यार्थी समूहका विद्यार्थीले मात्रै उम्मेदवारी दिन पाउने छन् । फागुन २५ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय छुट्याइएको छ ।

आज आफ्नो पार्टी निकटका विद्यार्थी सङ्घ–सङ्गठन दर्ता गर्न विद्यार्थी नेतासँगै पार्टीका जिल्लाका पदाधिकारी तथा अन्य नेताहरु पनि सँगसँगै क्याम्पसमा पुुगेका थिए ।

स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका विद्यार्थी नेताले दैनिकजसो क्याम्पसमा पुुगेर मतदाता अर्थात् क्याम्पसमा अध्ययनरत् विद्यार्थीसँगको भेटघाट बाक्लो पारेका छन् ।